चितवन राष्ट्रिय निकुञ्जमा दसैंअघि जिप सफारी सुरु हुँदैछ। सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो।
वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो। वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्नेलगायत काम सकिएसँगै जिप सफारी सुरु गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए।
हरेक वर्ष वर्षाको समयमा निकुञ्जभित्रको जिप सफारी बन्द गरिन्छ। सूचना अधिकारी थापामगरले असोजको दोस्रो साता आएको बाढीले जङ्गलभित्रका मार्ग भत्किएकाले सफारी खुला गर्न समय लागेको जानकारी दिए।
बाढीका कारण रिउखोला गहिरो भएकाले ‘ग्राभेलिङ’ गर्ने काम भइरहेको छ। रिउखोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने मार्गमा समस्या भएकाले स्तरोन्नति गर्न समय लागेको उनले जनाउँदै सो ठाँउमा ग्राभेल हालेर मार्ग तयार गर्ने काम भइरहेको बताए।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ।
निकुञ्जमा सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र सञ्चालन हुन्छन्।
प्रकाशित: १९ आश्विन २०८३ २१:१५ सोमबार





