१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

स्याङ्जाको वालिङमा जिप दुर्घटना: एकको मृत्यु, २० घाइते

स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्ली डाँडास्थित मिर्दी-चापाकोट सडक खण्डमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

ताप्केबाट वालिङतर्फ आउँदै गरेको बिएए ७९०५ नम्बरको डबल क्याप बोलेरो जिप सडक छेउमा पल्टिँदा वालिङ-७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको हो।

प्रहरीका अनुसार २२ जना सवार उक्त जिप दुर्घटनामा २० जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।

घाइतेमध्ये १७ जनालाई पोखरा र २ जनालाई बुटवल रिफर गरिएको छ भने एक बालकको वालिङमै उपचार भइरहेको छ। प्रहरीले जिप चालक वालिङ–७ निवासी २८ वर्षीय मीन बहादुर सारूलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पोखरा पठाइएका १७ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। गम्भीर घाइते हुनेहरूमा वालिङ-७ की ४६ वर्षीया रुपकला सारू, रुपन्देहीकी ५५ वर्षीया सुमित्रा गुरूङ र नवलपरासी पूर्वकी ४१ वर्षीया मायादेवी सुनारी रहेका छन्। उनीहरूको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ।

त्यस्तै, मध्यम अवस्थाका घाइतेहरूमा १२ वर्षीया कर्मिसा सुनारी, ४५ वर्षीया जैकला सारू, २० वर्षीया रुक्सना थापा, ४६ वर्षीया कमला थापा, ३९ वर्षीय टोप बहादुर थापा, ४९ वर्षीया गौमाया सारू र ५९ वर्षीय बेल बहादुर आले रहेका छन्।

वालिङ–७ कै ३० वर्षीय कुमार सारु, ३८ वर्षीया ज्ञानुमाया सारू, गैँडाकोटकी २६ वर्षीया आस्मा तामाङ सारु, २० महिनाकी नाबालिका प्रिन्सा सारु, ४० वर्षीया सावित्रा मगर, ५१ वर्षीया धन कुमारी उचाई र ५१ वर्षीया नन्द कुमारी रानाको पनि पोखरामा उपचार भइरहेको छ।

बुटवलको तिलोत्तमा–७ निवासी ७३ वर्षीया भीम कुमारी थापा र ४७ वर्षीया लालसुवा थापालाई थप उपचारका लागि बुटवल पठाइएको छ। दुर्घटनामा घाइते भएका एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ।

प्रकाशित: १२ असार २०८३ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App