बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित कुवाडी–क्युडी कच्ची सडक खण्डमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब सवा १ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य छ।
दुर्घटनामा परेर बाजुराको हिमाली गाउँपालिका-२ नातीखोला बस्ने जिप चालक २५ वर्षीय जनवीर बुढा, सोही ठाउँका ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा घाइते भएका छन्।
यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया बालिका सुस्मा बुढा पनि दुर्घटनामा घाइते भएका छन्।
दुर्घटनाका घाइते सबैलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १६:०९ सोमबार





