१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

एघार घण्टापछि खुल्यो जयराम–हलेसी सडक

सडक अवरुद्ध गरेको पहिरो पन्छाइदै । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

अविरल वर्षाले सोमबार विहान पहिरो गएर अवरुद्ध भएको खोटाङको जयरामघाट–हलेसी खण्ड सडक साँझदेखि सञ्चालनमा आएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटारमा पहिरो खस्दा सडक पुरिएर विहानदेखि अवरुद्ध सडक पहिरो पन्छाएपछि खुलेको हो ।  

लोकमार्ग कार्यालय र हलेसी तुवाचुङ नगरपालिकाको सामुहिक प्रयासमा पहिरो पन्छाइएपछि साँझ ६ बजेदेखि सडकमा गाडी चल्न थालेको हलेसी तुवाचुङ नगरप्रमुख बिमला राईले बताईन् । उनका अनुसार अवरुद्ध सडक खुलाउन विहान ९ः०० बजेदेखि पहिरो पन्छाउने काम थालिएको थियो ।  

सोमबार विहान झण्डै सय मिटर माथिबाट खसेको पहिरोले सडक पुरेपछि यातायात आवागमन ठप्प भएको थियो । आवागमन सुचारु गराउन तुवाचुङ नगरपालिका र लोकमार्ग कार्यालयले ११ घण्टा लामो समय लगाएर पहिरो पन्छाएका हुन् । पहिरो पन्छाउन स्काभेटर, जेसिबी तथा ट्याक्टरजस्ता यन्त्र उपकरणसहित जनशक्ति परिचालन गरिएको थियो । पहिरो पन्छाइए पनि अहिलेलाई अस्थायी मात्र भएको र यसको दीगो मर्मत कार्यका लागि नगरपालिका र लोकमार्ग कार्यालयबीच छलफल गरेर अघि बढ्ने मेयर राईले बताएकी छिन् ।  

सडक अवरुद्ध हुँदा त्रिधार्मिकस्थल हलेसी गएर फर्कदै गरेका तथा दर्शनका लागि जाँदै गरेका तीर्थयात्री बाटोमै अलपत्र परेका थिए । पहिरोको दुवैतर्फ तीर्थयात्री सवार गाडीहरु लामबद्ध भएर रोकिएका थिए । पहिरो खुलेसँगै धमाधम सबे सवारी साधन चल्न थालेका छन् । 

प्रकाशित: २६ श्रावण २०८२ २०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App