कालीकोटको पचालझरना र पलाँता गाउँपालिका जोड्ने जारकोट पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम अधुरो अवस्थामा रहेको हो। समयमै पुल नबन्दा स्थानीयले कर्णाली करिडोरसँग सहज रुपमा जोडिन पाएका छैनन् । तीन वर्षमा बन्नुपर्ने पुल सम्झौताको साढे ५ वर्ष हुँदा समेत सकिएको छैन।
०७७ सालको असोज १३ गते हिराचन क्याराभान सुपरस्टार जेभिले यो पुल निर्माणका लागि भ्याटसहित १३ करोड ३६ लाख ३९ हजारमा ठेक्का सम्झौता पाएको थियो । सम्झौता अनुसार २०७९ असोज १३ गते काम सक्काउनुपर्ने थियो । तर ठेकेदार कम्पनीको लापरबाहीले सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक २०८१ जेठ ०४ देखि २०८१ चैत ३१ गतेसम्म म्याद थपियो तर काम भने सकिएन। दोस्रो पटक २०८२ जेठ १९ बाट २०८३ को चैत ३० गतेसम्मका लागि म्याद थपिएको छ । तर अझै काम सकिने छाँट देखिँदैन । हालसम्म पुल निर्माणको कामले गति लिन सकेको छैन ।
पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमका अनुसार चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको बताइन् । लामो समयसम्म पुल नबन्दा स्थानीयले कर्णाली नदीबाट वारपार गर्न घन्टौ हिड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
मौखिक तथा लिखित रुपमा पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकरप्रसाद सिंहले बताए ।
उनले भने, ‘हामीले धेरै पटक काम गराउन प्रयास गरेका हौँ । अहिलेसम्म २१ प्रतिशत मात्र पुलको भौतीक प्रगती छ । पुलको साइडमा हालसम्म एकतर्फको पिल्लरमात्र देखिन्छ ।’
‘कर्णाली नदीमा पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती छ ।’ पलाँता गाउँपालिका —९ का पूर्व वडाध्यक्ष टक्क बमले भने, उक्त पुल नबन्दा पलाँताका स्थानीयले समेत धेरै सास्ती खेपेका छन् ।
पुलको प्राविधिक काम हेर्दै आएका पूर्वाधार विकास कार्यालयका इन्जिनियर विसराम पुन मगरले पुलको भौतिक प्रगति नखेखिएको दाबी गरे । ठेकेदार कम्पनीले अहिलेसम्म ३ करोड ३ लाख ९१ हजार रुपैयाँ भुक्तानी लिइसकेको उनले बताए । पुल निर्माणको जिम्मा पाएको हिराचन क्याराभान सुपरस्टार जे.भिका ठेकेदार तारा शाहाले पुलको काम भइरहेको बताइन् ।
प्रकाशित: २२ चैत्र २०८२ १८:५९ आइतबार





