९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

कुनै कर्म नै नगरी भाग्यलाई नकार्नु महामूर्खता हो: कर्ण शाक्य

सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमै यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।  

कसैले सरकारको निर्णयको तारिफ गर्दै सकारात्मक कदम भएको बताएका छन् । भने कसैको कडा र आपत्तिजनक टिप्पणी छ । अनि धेरैले विकल्प नै नदिइ र कुनै वैकल्पिक व्यवस्था नगरी, नियमनमा आउने बाटो नपनाइ एकलौटी रुपमा निर्णय थोपर्नु गलत भएकाले सरकारलाई निर्णय सच्याउन रचनात्मक सुझाव पनि दिएका छन् ।  

यसरी रचनात्मक सुझाव दिनेमा पर्छन् नेपाली पर्यावरणविद्, संरक्षणवादी, लेखक तथा पर्यटनकर्मी कर्ण शाक्य ।  

उनले आफू प्रविधिको ढुंगेयुगमा जन्मिए पनि आज अत्याधुनिक प्रविधि उपयोग गरिरहेको उल्लेख गर्दै प्रविधिको यो विकास क्रममा अभ्यस्त हुन पाउनु आफ्नो सौभाग्य रहेको बताएका छन् । सामाजिक सञ्जालका गुण-अवगुण दुवै रहेको बताउँदै उनले व्यंगात्मक रुपमा भनेका छन्, ‘मेरो बुझाइमा, प्रविधिको पौष्टिक माछामा काँडा छ भन्दैमा माछा नै नखाने, वा कोठामा लामखुट्टे आयो भनेर झ्याल नै बन्द गर्ने नीति अपनाउनु हुँदैन। बरु, माछामा काँडा छ भने, निकालेर खाने हो ; झ्यालमा जाली राखेर स्वच्छ हावा लिने हो।’

शाक्यले सरकारलाई नियमनमा ल्याउने कसरत किन नगरेको भन्दै प्रश्न पनि गरेका छन् । उनले अभ्यास नै नगरी भाग्यलाई नकार्नु महामुर्खता भएको टिप्पणी गरेका छन् ।  

शाक्य लेख्छन्, ‘बिना कुनै प्रयास वा कसरत, हामीले पाएको यो प्रविधिको चमत्कार हाम्रो सौभाग्य हो। तर कुनै कर्म नै नगरी भाग्यलाई नकार्नु महामूर्खता हो। कर्मले सिकाउँछ, भाग्यले जिताउँछ।’

प्रकाशित: २० भाद्र २०८२ १६:३० शुक्रबार