२६ भाद्र २०८२ बिहीबार
image/svg+xml १३:३३ अपराह्न
समाज

सिचाई कार्यालय: खुद्रे योजना धेरै, कार्यान्वयनमा चुनौती

जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालयको अवस्था र प्रगति प्रस्तुत गरिँदै । तस्बिर: अनिल भण्डारी/नागरिक

खुद्रे योजनाले जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुलीलाई हैरान भएको छ । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुलीमा चालु आर्थिक वर्षमा २०२ ओटा योजनाहरू छन् । जसमध्ये १० लाखका मात्रै १ सय १२ ओटा योजना रहेको कार्यालयले जनाएको छ । 

यस्तै दश लाख मुनीका १४ ओटा योजना सिचाई कार्यालयमार्फत चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने गरी प्रदेश सरकारले पठाएको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिए । हामीलाई साना योजना धेरै हुँदा काम गर्ने दिन पनि पुग्दैन, उनले भने, दैनिक हामीले गर्न सक्ने काम चार ओटा बराबरको योजनामा हुन्छ आर्थिक वर्षको सुरुवाती बर्षायाममा हुँदा झन्डै ९० दिन फिल्डमा पुग्न सकिँदैन । उनका अनुसार कर्मचारीले पाउने सार्वजनिक बिदा भैपरि आउने बिदा लगायतलाई हेर्दा काम गर्ने दिन नै पुग्दैन त्यसैले साना योजनालाई स्थानीय तहमै दिएर २० लाख देखि माथिका योजना मात्रै कार्यालय मातहत दिए काम गर्न सहज हुने थियो ।  

गत आर्थिक वर्षको प्रगति र चालु आर्थिक वर्षको बजेट विनियोजनको अवस्था र कार्यान्वयनका सन्दर्भमा एक औपचारिक छलफल कार्यक्रम गरी कार्यालयले साना योजनालाई स्थानीय तह मातहतमै लैजान कार्यालयले सुझाएको छ । बागमती प्रदेशका निवर्तमान आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले  चालु आर्थिक वर्षको योजना र बजेटमा अनियमितता भएको बताए । उनले प्रदेश सरकारका योजना कमिसन दिएर किन्नुपर्ने अवस्था आएको र बिचौलियाको हाबी हुँदा योजनाहरू अपेक्षा अनुसारको नभएको बताए । साना योजनाहरूलाई सर्त सहित स्थानीय तहमा लैजानु नै पर्छ उनले भने, कृषि योग्य भूमिलाई सिचित गर्न सरकार पछि हट्नु हुँदैन । 

चालु आर्थिक वर्षमा सिचाई कार्यालयले सिचाई र नदी नियन्त्रणका गरी २०२ ओटा योजना सिन्धुलीमा कार्यान्वयन गर्नुपर्नेछ । जसका लागि २९ करोड७४ लाख बजेट बागमती प्रदेश सरकारले उक्त कार्यालयलाई उपलब्ध गराएको छ। १५ जनाको दरबन्दी रहेको सिचाई कार्यालयमा १४ जना कार्यरत रहेको र थोरै कर्मचारी साधन स्रोतले धेरै योजना कार्यान्वयन गर्न चुनौती भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा उक्त कार्यालयले करिब ९७ प्रतिशत वित्तीय प्रगति गरी बागमती प्रदेशका सिन्धुलीमा रहेका कार्यालयमध्येकै उत्कृष्ट प्रगति गरेको छ । 

गत चालु आर्थिक वर्षमा कार्यालयमा १९५ ओटा योजना रहेकोमा ५ लाखसम्मका ५८ ओटा योजना र १० लाखका ५७ ओटा योजना रहेका थिए । दुई नगरपालिका र ७ गाउँपालिका रहेको सिन्धुलीमा यस बर्ष सिचाई कार्यालयमार्फत कमलामाई नगरपालिकामा सबैभन्दा धेरै ४५ योजना रहेको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए। सोही कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मातृका भट्टराई, शुष्पा भुजेल, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगायतले किसानको आवश्यकता अनुसारका योजनाहरू सिचाई कार्यालयमार्फत लागु हुनुपर्ने धारणा राखेका थिए । प्रदेश सरकारका योजनाहरू उपलब्धिहीन ठाउँमा धेरै भएको भन्दै जनतासँग प्रत्यक्ष जोडिने योजनामा मात्रै प्रदेशले बजेट विनियोजन गर्नुपर्ने सहभागिताको धारणा थियो । 

प्रकाशित: २५ श्रावण २०८२ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App