पाँचथरको फालेलुङ गाउँपालिका विपत् प्रभावित गाउँपालिका हो। पछिल्लो पटक २०८० कार्तिकमा आएको बेमौसमी वर्षापछि गाउँपालिकामा ठुलो क्षति भयो । त्यसको क्षतिको असर अहिले पनि उस्तै छ । पूरा गाउँपालिका भर जोखिम देखिएपछि प्राकृतिक विपतबाट बच्न नयाँ नयाँ तरिका अपनाउन थालिएको छ । सोही तयारी अनुसार अहिले गाउँपालिकाको केन्द्रमा सम्भावित जोखिमको पूर्व जानकारी दिने उद्देश्यले साइरन जडान गरिएको छ ।
वडा नम्बर ५ को प्राङबुङमा विपत् आउन लाग्दा जानकारी दिने उद्देश्यले उपकरण जडान गरिएको हो । प्राङबुङ चोकमा त्यस्तो उपकरण जडान गरिएको छ ।
साइरनले बाढी पहिरो, अत्याधिक वर्षा, चट्याङसहितका प्राकृतिक विपत्पूर्व जानकारी दिन्छ । पूर्व जानकारी भएपछि नागरिकलाई सुरक्षित स्थानमा रहन सहज हुने बताइएको छ ।
फिनिश रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले सञ्चालन गरेको पूर्व तयारी तथा पुर्वानुमानद्धारा समावेशी बिपत प्रभाव न्यूनीकरण कार्यक्रम अन्तरगत बहुप्रकोपिय साइरन जडानका लागि ७ लाख रुपैँया खर्च गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा पाँचथरले जनाएको छ ।
यसरी साइरन जडान गरिएको जिल्लामा पहिलो हो । यसले फालेलुङ गाउँपालिका भर प्रकोपबारेको पूर्व जानकारी दिन सक्ने अनुमान गरिएको छ । भौगोलिक हिसाबमा यो गाउँपालिकाको मध्य भागमा छ । कार्यक्रमका जय अधिकारीले भने–यसले अधिकतर गाउँपालिकाको भूभागलाई सेवा दिन सक्छ ।
पूर्वजानकारी बिना आउने विपतबाट हुन सक्ने क्षति काम गराउन सहयोगी हुने अपेक्षा स्थानीय तहको छ । पूर्व सूचना प्रणाली स्थापनाले केही राहत हुने र विपत् प्रतिकार्य सहज हुने अपेक्षा गरिएको छ ।
प्रकाशित: ११ श्रावण २०८२ १३:५५ आइतबार





