गृहमन्त्री सुधन गुरुङले विपद्को जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।
आज सिंहदरबारमा मनसुन पूर्वतयारी र प्रतिकार्यका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री गुरुङले बाढी, पहिरो, डुबान, सुक्खा क्षेत्रको सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिए ।
विपद्को सूचना छिटोभन्दा छिटो सर्वसाधारणमा पुर्याउनु पहिलो आवश्यकता रहेको भन्दै मन्त्री गुरुङले विपद् हुनासाथ तत्काल प्रतिकार्यमा सबै जुट्नसक्ने गरी संयन्त्र बनाउन पनि निर्देशन दिए। उनले सूचनासञ्चारको कामलाई व्यवस्थित बनाउनुपर्ने, निकाय, विभाग र संस्थाहरूबीचको आन्तरिक सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने, अस्थायी आश्रयस्थल र राहत वितरणको कार्य गर्दा विशेष प्रकारका नागरिकलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्नेलगायत विषयमा जोड दिए ।
आजको छलफलमा विभिन्न ११ वटा विषयगत क्षेत्रका नेतृत्वकर्ता सरकारी मन्त्रालय÷निकाय र सह-नेतृत्वकर्ता, संयुक्त राष्ट्रसङ्घीय निकाय, नेपाल रेडक्रसका साथै तीनवटै सुरक्षा निकाय र अन्य सरोकार भएका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
छलफलमा विषयगत क्षेत्रका प्रतिनिधिहरूले विशेष गरी मनसुन अवधिका लागि आ-आफ्नो विषयगत क्षेत्रबाट भएको पूर्वतयारी र भइरहेका कामका बारेमा जानकारी गराएका थिए । सोक्रममा यसवर्षको मनसुनमा कम वर्षा हुने र गर्मी पनि बढ्ने पूर्वानुमान गरिएको विषयमा छलफल गरिएको थियो ।
प्रकाशित: ४ असार २०८३ २१:३६ बिहीबार





