ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गर्दै इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्य, विभिन्न विद्यार्थी संगठनका अगुवा, अध्यापक तथा विद्यार्थीहरूले नगर परिक्रमापछि वीरेन्द्र चौकमा आएर कोणसभा गरेका थिए। कोण सभालाई पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजमले सम्बोधन गर्दै बलात्कार र हत्या प्रकरणको शीघ्र छानबिन र दोषीउपर कडा कारबाहीका लागि सरकारको ध्यानाकर्षण गरिन्।
प्रदर्शन तोक्मेडाँडाबाट सुरु भएको भएको थियो। कोणसभापछि फेरि विद्यार्थीहरूले बजारको माथिल्लो भागबाट प्रदर्शन गर्दै पुनःतोक्मेडाँडामा पुगेर प्रदर्शन टुङ्गाएका थिए। तोक्मेडाँडाको कोण सभालाई स्ववियु सभापति तिलबहादुर जोगी र सचिव लक्ष्मण पौडेलले संक्षिप्त सम्बोधनपछि प्रदर्शन सकिएको घोषणा गरिएको थियो।
प्रकाशित: २ चैत्र २०८२ १३:३५ सोमबार





