३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

ईनिशा हत्या प्रकरण : तत्काल कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने सञ्जालको चेतावनी

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष विश्वकर्मासहित सञ्जालको टोली। तस्बिर : महेश्वर चामलिङ राई/नागरिक

गत फागुन २३ गते सामूहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा विश्वकर्माका हत्यारालाई तत्काल कडा कारबाही गर्न माग गर्दै दलित अधिकार सञ्जाल उदयपुरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। ट्युशन पढ्न निस्किएकी सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया ईनिशाको हत्या भएको यति दिन बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै सञ्जालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

सञ्जालले मंगलबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेको छ। दिनदहाडै एक बालिका सामूहिक बलात्कारको शिकार मात्र नभई हत्या जस्तो जघन्य अपराधको घटना भएको यति दिन बितिसक्दा पनि दोषीमाथि ठोस कारबाही नभएको भन्दै अपराधीमाथि कारबाही गर्न ढिलाइ भइरहेकोप्रति प्रधानमन्त्रीलाई सचेत गराइएको छ।

सञ्जालका अध्यक्ष मेम विश्वकर्माको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको हो। हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सञ्जालले माग गरेको छ।

ज्ञापनपत्रमा माग सम्बोधन नभए सञ्जाल देशव्यापी सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ।

सञ्जालले विभिन्न सात बुँदे मागसहित समाजमा जातका आधारमा यस्ता अमानवीय र क्रूर घटनाहरू दोहोरिनु दुःखद भएको जनाएको छ। बलात्कार र हत्या जस्ता घटनामा नेपालमा स्पष्ट कानुनी व्यवस्था भए पनि दलित समुदायका पीडितका हकमा कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

सिडिओलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष विश्वकर्माले दलित समुदायका बालिका तथा महिलाहरू बलात्कार र हत्याको शिकार भइरहँदा पनि दोषीमाथि कडा कारबाही नहुँदा यस्ता घटनाहरू बढ्दै गएको बताए।

उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ईनिशा हत्या प्रकरणका दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको बताए।

यस घटनालाई विभिन्न बहानामा समय लम्ब्याएर दोषीलाई जोगाउने प्रयास भएको आशंका गर्दै सञ्जालले यस्तो भए अवस्था असहज हुने चेतावनी दिएको छ।

“ईनिशा हत्या प्रकरणका दोषीमाथि चाँडो कडा कारबाही नगरिए स्थिति असहज हुन सक्छ,” अध्यक्ष विश्वकर्माले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख छ। “पीडित परिवारलाई न्याय दिलाउन र ईनिशाको आत्माको शान्तिका लागि सञ्जाल देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुनेछ।”

प्रकाशित: ३ चैत्र २०८२ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App