२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सम्झौता बमोजिम काम नगर्ने ठेकेदारलाई पूर्वाधार कार्यालयको ताकेता

कोशी प्रदेश पूर्वाधार विकास कार्यालय, खोटाङ । तस्विरः महेश्वर चामलिङ राई

खोटाङमा विभिन्न योजनाको काम गर्ने जिम्मा लिएर काम सुरु नगरेका निर्माण कम्पनीलाई ताकेता पत्र लेख्ने काम भएको छ । प्रदेश सरकार मातहतमा रहेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता भए पनि निर्माण कार्य नथाल्ने ठेकेदारलाई पत्राचार गरी ताकेता गरेको हो ।  

पूर्वाधार कार्यालयमार्फत विभिन्न भौतिक संरचना निर्माण गर्ने सम्झौता गरेको २ महिना बितिसक्दा सम्म पनि काम सुरु गरेको नपाएपछि १९ वटा निर्माण कम्पनीलाई ताकेता गर्न लिखित स्पष्टीकरण सोधिएको हो ।  

पूर्वाधार विकास कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा २६ वटा संरचना निर्माण योजनाको ठेक्का लगाएको छ । तर, ठेक्का सम्झौता गरेको महिनौँ बित्दा पनि कम्पनीले निर्माण कार्य थालेको नपाएपछि स्पष्टीकरण सोध्नु परेको पूर्वाधार विकास कार्यालय प्रमुख (डिई) विनम दाहालले बताए । उनका अनुसार  खोटाङ, उदयपुर, काठमाडौंलगायत विभिन्न जिल्लाका ठेकेदार कम्पनीलाई १ साताभित्र लिखित स्पष्टीकरण बुझाउन र काम पनि तत्काल सुरु गर्न भनिएको छ ।

ताकेता पत्र पाउने निर्माण कम्पनीहरू युनानान निर्माण सेवा उदयपुर, विश्व शिखर निर्माण सेवा उदयपुर, अर्जुन पोईन्ट इन्जिनियर डेप्लोपर्स प्रालि काठमाडौं, राइटब्रोदर/आरटिडी जेभी, इमो बिल्डर्स प्रालि, शिलान्याश इन्जिनियरिङ कन्सल्टिङ प्रालि धादिङ, शान्तिभूमि कन्ट्रक्सन प्रालि खोटाङ छन् । त्यस्तै, अन्सुबी/नेपाल/फूलबारी/पिङ्गला जेभी, एसआर कन्ट्रक्सन खोटाङ, निर्माण कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि खोटाङ, राना/साम्पाङ कन्ट्रक्सन प्रालि खोटाङ, भीषणहाङ कन्ट्रक्सन प्रालि भोजपुर, बराहपोखरी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौँ, पाथीभरा निर्माण सेवा उदयपुर, धनसुना कन्ट्रक्सन, बि एण्ड बि निर्माण सेवा उदयपुर, खोक्चिीलिपा/साल्मे आरटिडी जेभी छन् ।  

यी कम्पनीमध्ये ५ वटा कम्पनीहरू डिबी कन्ट्रक्सन उदयपुर र डिजी निर्माण सेवा खोटाङ, शान्तिभूमि कन्ट्रक्सन प्रालि खोटाङ, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पोईन्ट इन्जिनियर डेप्लोपर्स प्रालि काठमाडौँ गरी ले भने २/२ वटा योजनाको ठेक्का लिएका छन् ।  

सम्झौता गरे पनि काम सुरु नगर्नुको कारणसहित ७ दिनभित्र स्पष्टीकरण पेश गर्न लिखित ताकेता सोधिएको र तोकिएबमोजिम नगरे वा तत्काल काम सुरु नगर थप कारबाही गर्न कार्यालय बाध्य हुने पनि पत्रमा उल्लेख छ ।  

वर्षायाम सुरु हुन लागेको तथा आर्थिक वर्ष सकिन पनि ३ महिना मात्र बाँकी रहेकाले समयमै काम थाल्न कार्यालयले ताकेता गर्नुपरेको डिई दाहालले बताएका छन् । कतिपय काम चालु वर्षभित्रै सक्ने खालका रहेको तथा असार मसान्ततिर गरिने कामको गुणस्तर राम्रो नहुने तर्फ सचेत हुँदै ताकेता गरिएको उनको भनाई छ ।  

यसरी काम ढिला गर्दा एकातिर जिल्लावासी उपभोक्ताले सास्ती भोग्नुपर्ने अवस्था आउने तथा अर्कातिर जनताका लागि आएको बजेट फ्रिज भएर फर्कने समस्या आउन नदिनु कार्यालयको उद्देश्य हो । कार्यालयले ठेक्का लागेका योजनाहरूको अनुगमन गर्न कर्मचारी साइटमा खटाएको थियो भने स्थानीयवासीसँग पनि सम्पर्क राख्दै आएको थियोअनुगमनमा खटेका कर्मचारीले दिएको रिपोर्ट अनुसार निर्माण कार्य थालेको नपाएपछि ठेकेदारलाई यस्तो निर्देशन दिदै निर्धारित समयमा काम सुरु नगरे कानुन बमोजिम बैँक जमानत जफतदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गर्ने चेतावनी दिइएको छ ।  

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खोटाङमा चालु वर्ष १ सय २३ वटा पूर्वाधार संरचनाका योजनाहरू सञ्चालन हुदैछन् । त्यसका लागि ठेक्का सम्झौता भएकामध्ये २६ वटाको काम सुरु नभएको पाइएको छ । बाँकी योजनाको काम भने तीव्र गतिमा भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित: २१ चैत्र २०८२ १८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App