नेपालगन्ज विमानस्थल कार्यालयले दुई महिनादेखि सुविधासम्पन्न टर्मिनल भवनबाट आफ्नो सेवा दिइरहेको छ। गत वैशाख १५ बाट सञ्चालनमा आएको अन्तर्राष्ट्रिय मापदण्डको टर्मिनल भवन अन्डर–ग्राउन्डसहित ५५ हजार स्क्वायर फिटमा तीन तलाको रहेको छ। टर्मिनल भवनका तीनवटा ब्लकसहित जहाज पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेस्टहाउस, ढल व्यवस्थापन, बगैंचा, फुटपाथ, शौचालयलगायतका संरचना निर्माण गर्न मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक दुई अर्ब ७२ करोड रुपैयाँ खर्च भएको थियो।
एकैपटक ६ सय ९८ जना बस्न मिल्ने क्षमता रहेको उक्त टर्मिनल भवनमा यतिबेला यात्रु खचाखच भरिनुपर्ने हो, तर भवनको क्षमताअनुसार यात्रुको उपस्थिति निकै कम हुन्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँ निर्मित दशकौं पुराना संरचनालाई विस्थापित गरी नयाँ पूर्वाधार बनायो तर यही समयमा विमान कम्पनीले आफ्नो उडान (फ्लाइट) मा भारी मात्रामा कटौती गरे। टर्मिनल भवनको क्षमताअनुसार यात्रुको संख्या कम हुँदा खल्लो महसुस भइरहेको विमानस्थल कार्यालयकै कर्मचारी बताउँछन्। ‘अहिले विमानस्थलको टर्मिनल भवन ठुलो क्षमतामा रहेको छ, तर यही बेलामा हवाई कम्पनीले फ्लाइट कटौती गरेका छन्, यात्रुको चाप पनि कम छ’, ती कर्मचारीले भने।
बुद्ध एयरले हप्तामा दुईपटक गर्दै आएको नेपालगन्ज–पोखरा उडान अहिले बन्द गरेको छ। यसबाहेक विभिन्न हवाई कम्पनीले पनि काठमाडौं–नेपालगन्ज उडानमा कटौती गरेका छन्। कुनै समयमा नेपालगन्ज–काठमाडौंका लागि दैनिक १५/१६ वटासम्म उडान हुने गरेकोमा अहिले आठवटामा झरेको छ।
नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार काठमाडौं–नेपालगन्ज दैनिकरूपमा बुद्ध एयरले ४, श्री एयरले ३ र यती एयरले एक मात्र उडान गर्दै आएका छन्। यसबाहेक पहाडी क्षेत्रमा समिट एयरले तीन, ताराले दुई, सिता एयरले दुई जहाजमार्फत यात्रु तथा कार्गो बोक्ने गरेका छन्। यस्तै नेपाल एयरलाइन्सको जहाजले आइतबारदेखि शुक्रबारसम्म साविकमध्ये र सुदूरपश्चिमका विकट पहाडी जिल्लामा उडान गर्छन्।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सन्तोषकुमार पोखरेल नयाँ टर्मिनल भवन सञ्चालनमा आउनु र विमान कम्पनीको उडान कटौती हुनु संयोग परेको बताउँछन्। पछिल्लो समय उत्पन्न विभिन्न परिस्थितिका कारण विमान कम्पनीले उडानमा कटौती गरेको र यात्रु चाप पनि घटेको उनले बताए। ‘टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रु त्यति छैनन्, सहजरूपमा यात्रुको आवतजावत चलिरहेको अवस्था छ’, उनले नागरिकसँग भने।
यात्रु चाप कम हुनुमा इन्धन मूल्यका कारण हवाई भाडा बढ्नु, बर्खायाम सुरु हुनु, स्थलमार्ग सहज र सुरक्षित हुँदै जानु रहेको विमानस्थल कार्यालय प्रमुख पोखरेल बताउँछन्।
कार्यालयका अनुसार सन् २०२५ मा नेपालगन्ज विमानस्थलमा दुई लाख ६८ हजार ६ सय दुई यात्रु आएका छन् भने दुई लाख ६७ हजार तीन सय २४ यात्रु गएका छन्। यसअघि सन् २०२४ मा दुई लाख ५१ हजार तीन सय ७० यात्रु यहाँ आएका थिए, भने दुई लाख ५३ हजार ६ सय ६४ जना यात्रु यहाँबाट बाहिर गएका थिए। हवाईजहाज चढ्ने यात्रु कम हुँदै गएकाले सन् २०२६ मा जहाज यात्रुको संख्या आधा घट्ने अनुमान गरिएको छ।
नेपालगन्ज–दिल्ली उडान माग
नेपालगन्ज–दिल्ली सिधा हवाई उडान गर्नुपर्ने माग यहाँका सरोकारवालाले उठाउँदै आएका छन्। झन्डै एक दशकदेखि नेपालगन्ज–दिल्ली उडानको आवाज उठाउन थालेका यहाँका नागरिक अगुवा, राजनीतिक दल, उद्योगी, व्यवसायी, जनप्रतिनिधिलगायतले विभिन्न निकायमा डेलिगेसन गरेर ध्यानाकर्षण गराइसकेका छन्।
दुई देशबिच कूटनीतिक रूपमा निर्णय गरेर नेपालगन्ज–दिल्ली उडानलाई निचोडमा पुर्याउनुपर्ने उनीहरूको सुझाव छ। पछिल्लो समयमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको टर्मिनल भवन निर्माण भएर सञ्चालनमा आएसँगै नेपालगन्ज–दिल्ली हवाई उडान मुद्दालाई सहज बनाएको नागरिक अगुवा बताउँछन्।
‘नेपालगन्जमा अत्याधुनिक टर्मिनल भवन बनेपछि नेपालगन्ज–दिल्ली सिधा हवाई गर्न हामीसँग झनै बलियो आधार तयार भएको छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले भने।
प्रकाशित: २७ असार २०८३ ११:३० शनिबार





