उद्योग संगठन मोरङले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूलाई सम्मान गरेको छ । श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै, सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कार्यरत तीन जना श्रमिकलाई उद्योगमा दीर्घ सेवा पुर्याए वापत शुक्रबार सम्मान गरिएको हो ।
सम्मानितहुनेहरूमा नेपाल लिकर्स प्रा.लि.मा २५ वर्ष देखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिल ईण्ड. प्रा.लि.मा २५ वर्षदेखि कार्यरत मोहम्मद ईद्रिस मिया, जयश्री पोलीमर्स प्रा.लि.मा २० वर्ष देखि कार्यरत सीतादेवी लामिछाने रहेकी छिन् ।
सम्मानित श्रमिकहरूलाई संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाललगायतले संयुक्त रूपमा सम्मान–पत्र सहित नगद प्रदान गरेका थिए । कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले श्रमिक दिवस संघर्ष, एकता, अधिकार र सामाजिक न्यायको प्रतीकका रूपमा स्थापित ऐतिहासिक दिन भएको बताए ।
संगठनका उपाध्यक्ष सुवोध कोईरालाले प्रविधिको विकास, श्रम बजारको परिवर्तन र आर्थिक चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न आबश्यक रहेको बताए । उनले श्रमिक र व्यवस्थापन बीच अझ घनिष्ठ सहकार्य आवश्यक भएको औल्याउदै आपसी सहकार्यले उत्पादनशीलता मात्र नभई श्रमिकहरूको मनोबल पनि उच्च बनाउने धारणा राखे ।
नेपाल ट्रेड युनियन क्रांग्रेस मोरङका अध्यक्ष सुशिल कोइरालाले श्रमिकहरूको अधिकार सुनिश्चित गर्दै उद्योगको विकास गर्न सकिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
त्यसका लागि संवाद, पारदर्शिता र सहकार्य प्रमुख आधार भएको बताए । कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, उद्योगी/व्यवसायीहरु, विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उद्योग संगठन मोरङले हरेक वर्ष अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकहरूलाई सम्मान गर्दै आएको छ ।
प्रकाशित: १८ वैशाख २०८३ २०:०१ शुक्रबार





