१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

वीरगन्जमा आँप बेच्ने भारतीय युवक ब्राउन सुगरसहित पक्राउ

वीरगन्जमा साइकलमा आँप बिक्री गर्दै हिँडिरहेका एक भारतीय नागरिकलाई प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत बेतिया थाना गोपालपुर ग्राम पञ्चायत–२ घोघाका ३० वर्षीय गुड्डु आलम रहेका छन्। उनी हाल वीरगन्ज महानगरपालिका–८ मा डेरा लिएर बस्दै आएका थिए। 

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–९ क्षेत्रमा एक भारतीय युवकले साइकलमा आँप बेच्दै लागूऔषध ब्राउन सुगरसमेत बिक्री गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा मंगलबार साँझ वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।  

प्रहरी टोलीले सडकपेटीमा आँप बेचिरहेका आलममाथि शंका लागेपछि उनको साइकल जाँच गरेको थियो। जाँचका क्रममा साइकलको पछाडिको चक्कानजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र कालो प्लास्टिकमा बेरेर सेतो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। 

लागूऔषध फेला परेपछि प्रहरीले आलमलाई तत्काल नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: १७ असार २०८३ १७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App