६ असार २०८३ शनिबार
image/svg+xml
समाज

मटिअर्वा नाकामा भारतीय पक्षबाट कडाइ

भारतीय सीमा सुरक्षा बलले मटिअर्वा नाकामा सुक्षा जाँचमा कडाइ गरेको छ। भारतीय सीमा सुरक्षा बलले दुई दिनदेखि सुरक्षा जाँचमा कडाइ गर्न थालेपछि भारतीय बजार आदापुर जाने नेपालीले सास्ती खेप्नुपरेको छ। सुरक्षा जाँचका नाममा घण्टौं नाकामा उभिनुपरेको नेपालीले बताएका छन्।

कलैया उपमहानगरपालिका–१० सँग जोडिएको मटिअर्वाबाट आदापुर जाने नेपालीमाथि यसअघि भारतीय सीमा सुरक्षा बलले कुनै रोकटोक गर्दैनथे। नेपाली र सवारीसाधनलाई सजिलै भारत प्रवेश गर्न दिने गरेको तर दुई दिनयता कडाइ गर्न थालेको मटिअर्वाका मनोज प्रसादले बताए। पहिला नेपालीलाई सवारीसाधनसहित सजिलै प्रवेश गर्न दिने भारतीय सीमा सुरक्षा बलले अहिले नेपालीको नागरिकता, सवारीसाधनको कागजपत्र मागेर घण्टांै कुराउन थालेको उनले बताए। भारतीय सुरक्षाकर्मीले घण्टौं कुराउन थालेपछि कतिपय नेपाली पारि नगई फर्किने गरेका छन्।

भारतीय बजारमा खाद्यान्न, मेसिनरी सामान, लत्ताकपडा, कस्मेटिक समान सस्तोमा पाइने भएकाले सीमावर्ती क्षेत्रका नेपाली उतै किन्न जाने गरेका छन्।

भारतीय सुरक्षाकर्मीले भारतीय बजारमा किनेर ल्याउने मालवस्तुको जाँचमा पनि कडाइ गर्न थालेका छन्। पहिला एउटै साइकलमा दुई बोरासम्म चामल ल्याउने दिने भारतीय सुरक्षाकर्मीले अहिले आधा बोरा मात्रै ल्याउन दिएको नीलकण्ठवाका त्रिभुवा प्रसादले बताए। कतिपय व्यक्तिको मालसामान बढी भएको भन्दै भारतीय सीमा सुरक्षा बालले जफत गर्न थालेको पनि उनले बताए। नाकामा भारतीय सीमा सुरक्षा बलले कडाइ गर्न थालेपछि कतिपयल खेतको बाटो प्रयोग गर्न थालेको उनको भनाइ छ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षा बलले नेपाली वारपार गर्दा सुरक्षा जाँचका नाममा कडाइ गरेको जानकारी सशस्त्र प्रहरीबाट पाएको बताए। उनले किन यस्तो भइरहेको छ भन्ने विषयमा भारती पक्षसँग आफूले बुझ्ने उनले बताए।

प्रकाशित: ६ असार २०८३ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App