मोरङको कटहरीस्थित रेल स्टेसन निर्माण अलपत्र परेको छ। लामो समयसम्म मुआब्जा विवादले रोकिएको रेल स्टेसन निर्माण पछिल्लो समय भारतीय पक्षको आनाकानीले रेल स्टेसन निर्माण अवरुद्ध भएको हो।
रेल स्टेसन निर्माणका लागि ठेक्का लागे पनि भारत सरकारको आनाकानीले काम हुन सकेको छैन। विगतमा नेपाल सरकारले जग्गा उपलब्ध नगराएका कारण रेलमार्गको काम एक दशकसम्म अघि बढ्न सकेको थिएन।
सर्वोच्च अदालतको २०८२ कात्तिकको आदेशपछि मुआब्जा विवाद सल्टिए पनि निर्माणमा भने अलमल भइरहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए। उनका अनुसार गत आर्थिक वर्ष रेल स्टेसन निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको भए पनि भारत सरकारले रकम निकासा नगरेपछि काम अवरुद्ध भएको थियो।
गत वर्ष २० करोड ५६ लाख भारतीय रुपैयाँमा रेल स्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी महतारा विल्टकमले पाएको थियो। यो वर्ष पनि गत वर्षको भन्दा १० प्रतिशत रकम बढाएर ठेक्का लागिसकेको आफूले जानकारी पाएको अध्यक्ष चौधरीले बताए।
उनले भने, ‘यो वर्ष पनि ठेक्का लागेको भन्ने जानकारी आएको छ। तर फेरि पनि रकम निकासा नभएर काम रोकिने हो कि भन्ने चिन्ता छ।’
चौधरीले कटहरीको रेलमार्ग निर्माणका लागि आफूले पद सम्हालेदेखि नै बारम्बार सम्बन्धित निकायमा ताकेता गरिरहेको भए पनि दुई देशबिचको विषय भएका कारण काम अझै अघि बढ्न नसकेको बताए। चौधरीले भने, ‘नेपालतर्फको समस्या समाधान भइसकेको भए पनि भारतीय पक्षमा फेरि समस्या देखिएको छ।’
नेपालमा जेनजी आन्दोलनपछि बनेको सरकार र भारत सरकारबिच सम्बन्धमा आएको दरारका कारण भारतीय पक्षले आयोजनाको ठेक्का लगाए पनि रकम निकासा नगर्ने समस्या देखिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार भारतको केन्द्रीय सरकारले कामको ठेक्का लगाए पनि रकम निकासा नगर्दा काम अघि बढ्न नसकेको छ। भारतको कानुनअनुसार ठेक्का लागेपछि १ सय २० दिनभित्र निर्माण कम्पनीसँग समझौता गर्नुपर्ने व्यवस्था छ।
तर गत वर्ष ठेक्का लागेपछि केन्द्रीय सरकारले चार महिना बित्दा पनि रकम निकासा नगरेपछि सम्झौता हुन नसकेको स्रोतले जनाएको छ।
भारतको बथनाहादेखि मोरङको कटहरीस्थित महेशपुरसम्म १८.६ किलोमिटर रेलमार्ग निर्माण गर्ने, विराटनगर–१८ बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी नजिक र कटहरीको महेशपुरमा गरी दुई वटा रेल स्टेसन निर्माण गर्ने विषयमा नेपाल र भारत सरकारबिच सन् २०११ मा सम्झौता भएको थियो। नेपाल र भारतले रेलमार्ग निर्माण गर्ने र नेपालले आवश्यक जग्गा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
सन् २०१८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना निर्धारित समयभन्दा धेरै पछाडि परेको छ। विगतमा निर्माणमा मुख्य अवरोध नेपालतर्फको जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी विवाद बनेको थियो। एक वर्षअघि मुआब्जा विवाद सल्टिए पनि निर्माणले गति लिन सकेको छैन।
कटहरीस्थित स्टेसन निर्माण रोकिँदा रेलमार्गको अन्तिम खण्ड पूरा हुन सकेको छैन। सरकारले रेलमार्ग निर्माणका लागि २०६८ सालमा जग्गा अधिग्रहण तथा मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो। परियोजनाका लागि ५ सय ६५ जग्गाधनीको गरी १ सय १९ बिघा जग्गा अधिग्रहण गरियो। २२ जना जग्गाधनीको २१ बिघा जग्गाको मुआब्जासम्बन्धी विवाद लामो समयसम्म कायम रह्यो।
सन् २०११ मा नेपाल र भारतबिच भएको सम्झौताअनुसार भारतको बथानाहादेखि विराटनगर–१८ स्थित भेडियारीसम्मको ८ किलोमिटर भाग निर्माण भई मालबाहक रेल सञ्चालनमा आइसकेको छ।
भेडियारीको एकीकृत भन्सार जाँच चौकीस्थित रेल स्टेसनदेखि कटहरीसम्मको निर्माण सम्पन्न भएको छैन। भेडियारीदेखि कटहरीको हुलाकी राजमार्गसम्मको धेरैजसो भागमा रेलको लिक बिछ्याउने काम भने भइसकेको छ। रेलको अन्तिम स्टेसनको काम रोकिँदा कटहरीसम्म मालबाहक रेल ल्याउन सकिएको छैन।
तत्काल काम सुरु भएमा दुई वर्षभित्रै कटहरी–१ स्थित महेशपुरमा मालबाहक रेल आउने छ। महेशपुरमा कार्गो रेलको अन्तिम स्टेसन र मालसामान झार्ने प्लेटफर्म निर्माण गर्नुपर्ने छ। रेलमार्गको अन्तिम २.६ किलोमिटर खण्डमध्ये १.६ किलोमिटर क्षेत्रमा अन्तिम अनलोड प्लेटफर्म निर्माण हुने छ।
उक्त क्षेत्रमा कर्मचारी आवाससमेत बनाउने योजना छ। रेलमार्ग सञ्चालनका लागि स्टेसन र प्लेटफर्म मात्र पर्याप्त हुँदैनन्। रेलको लिक, मालसामान व्यवस्थापन, सञ्चालनसम्बन्धी व्यवस्था र अन्य प्राविधिक संरचना पनि चाहिन्छ। महेशपुरमा रेलवे स्टेसनसँगै भन्सार कार्यालय र गोदामघर पनि बनाउनुपर्ने विराटनगर भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार रेलबाट आएका सामान जाँचपासका लागि गोदाम घर र भन्सारको शाखा कार्यालय पनि रेल स्टेसनसँगै निर्माण गर्नुपर्ने हुन्छ। मालबाहक रेल नियमित रुपमा सञ्चालनमा आउँदा ढुवानी लागत घट्ने, आयात–निर्यातमा सहजीकरण हुने मात्रै नभई महेशपुर क्षेत्रको विकासमा पनि टेवा पुग्ने स्थानीयको अपेक्षा छ।
महेशपुरसम्म रेलमार्गको पूर्वाधार निर्माणका लागि मोरङका उद्योगी व्यवसायीहरूले पनि निरन्तर ताकेता गरिरहेका छन्। भारत सरकारले निर्माण सुरु गरेको यो रेलमार्ग पहिलो चरणमा मोरङको कटहरीसम्म मात्रै आउने भए पनि भविष्यमा प्रस्तावित पूर्वपश्चिम रेलमार्गसम्म नै यसले समेट्ने योजना छ। विगतमा कटहरीको महेशपुरदेखि पूर्वपश्चिम रेलमार्गअन्तर्गत सुनसरीको खनारसम्मको नक्सांकन गरिएको थियो।
प्रकाशित: ११ कार्तिक २०८३ ०८:१२ बुधबार





