नेपाल परिवार नियोजन संघको सुर्खेत शाखाले एक वर्षमा ३४ हजार ४ सय ६९ सेवा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा संघले विभिन्न १२ प्रकारका सेवामार्फत उक्त सेवा प्रदान गरेको हो।
संघको तथ्यांकअनुसार सेवा लिनेमध्ये स्त्रीरोगसम्बन्धी सेवाको हिस्सा सबैभन्दा धेरै रहेको छ। एक वर्षमा १६ हजार ६ सय ५८ स्त्रीरोग सेवा लिएका छन्। यो कुल सेवाको करिब ४८ दशमलव ३ प्रतिशत हो। त्यस्तै परिवार नियोजनसम्बन्धी ५ हजार ५ सय ८४, यौनरोग तथा संक्रमणसम्बन्धी ४ हजार १ सय ४८ र बालरोगसम्बन्धी २ हजार ८ सय ६३ सेवा प्रदान गरिएको संघले जनाएको छ। तथ्यांकले यौनरोग तथा संक्रमणसम्बन्धी सेवा लिनेको संख्यामा समेत उल्लेख्य वृद्धि देखाएको छ।
संघका अनुसार प्रसूति सेवातर्फ १ हजार ३ सय ५०, गैरप्रजनन स्वास्थ्य सेवातर्फ १ हजार ७ सय २९ र सुरक्षित गर्भपतन सेवातर्फ ४ सय २६ बढीले सेवा लिएका छन्। विशेषज्ञ सेवामा ६७, बाँझोपनसम्बन्धी सेवामा १९, मूत्ररोग सेवामा १७ र अन्य यौन तथा प्रजनन स्वास्थ्य सेवातर्फ दुई जनाले सेवा लिएका छन्। नेपाल परिवार नियोजन संघले परिवार नियोजनसँगै सुरक्षित गर्भपतन, स्त्रीरोग, मातृ स्वास्थ्य, पाटेघरको मुखको क्यान्सरको चेकजाँच सेवा, यौनरोग तथा संक्रमणलगायत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ। संघको सुर्खेत शाखा वीरेन्द्रनगर नगरपालिका-८, धमाला चोकमा रहेको छ।
शाखा प्रबन्धक किरण श्रेष्ठका अनुसार संघले विभिन्न समुदायमा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ। उनका अनुसार नेपाल परिवार नियोजन संघ यौन तथा प्रजनन स्वास्थ्य सेवा र त्यससम्बन्धी पैरवी गर्ने नेपालको पहिलो राष्ट्रिय संस्था हो। यसैबीच ‘विपद् होस् या सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता’ भन्ने नारासहित १३औं राष्ट्रिय परिवार योजना दिवस तथा ६७ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस मनाइएको छ। दिवसका अवसरमा सुर्खेतमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो।
नेपाल परिवार नियोजन संघ सुर्खेत शाखा, वीरेन्द्रनगर नगरपालिका र जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको संयुक्त आयोजनामा भएको कार्यक्रममा संघका सुर्खेत शाखा अध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिका-८ का वडाध्यक्ष टीकाराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टाराईलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित मातृत्व र समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको जनाइएको छ। नेपाल परिवार नियोजन संघको सुर्खेत शाखाले पनि प्रजनन स्वास्थ्य, परिवार नियोजन, एसटिआई/आरटीआई, सुरक्षित गर्भपतन, एचआईभी/एडस् लगायतका सेवा दिने दिईरहेको शाखा प्रवन्धक श्रेष्ठले बताईन्।
प्रकाशित: ३ आश्विन २०८३ ०९:४३ शनिबार





