२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बढ्दो वायु प्रदूषणले निम्त्याउँदैछ गम्भीर रोग, बच्न यस्तो छ प्रहरीको सुझाव

विश्वभर बढिरहेको वायु प्रदूषणको असर नेपालमा पनि देखिएको छ। राजधानी काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भइसकेको अवस्थामा नेपाल प्रहरीले यसबाट बच्न नागरिकलाई सचेत गराएको छ।

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. मनोज कुमार यादवले प्रदूषणका कारण, यसले स्वास्थ्यमा पार्ने असर र बच्ने उपायबारे सचेत गराएका हुन्।

काठमाडौं उपत्यकाका साथै धनगढी, महेन्द्रनगर, पाटन र ठिमीलगायतका सहरमा वायु प्रदूषणको स्तर उच्च देखिएको छ। सन् १९९६ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुरु गरेको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार पछिल्लो समय नेपालका सहरी क्षेत्रको अवस्था चिन्ताजनक रहेको छ।

प्रदूषण बढ्नुमा सहरीकरण र सवारी साधनको धुवाँ मुख्य कारक रहेको डा. यादवले औंल्याएका छन्। घरभित्र खाना पकाउन प्रयोग हुने दाउरा र गुइँठा, जंगलमा लाग्ने डढेलो, कृषि बाली काटेपछि खेतमा लगाइने आगो र फोहोर जलाउने प्रवृत्तिले पनि वायु प्रदूषणलाई थप भयावह बनाएको उनको भनाइ छ।

वायु प्रदूषण नाप्ने अर्को एकाइ ‘पार्टिकुलेट म्याटर’ (पीएम) को स्तर २.५ भन्दा कम हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए। डा. यादवका अनुसार यस्ता मसिना कणलाई श्वासनली र नाकको फिल्टरले छान्न नसक्ने हुँदा सोझै फोक्सोमा पुगेर रगतमा मिसिने गर्छ।

डा. यादवले भने, ‘यसले गर्दा फोक्सोका रोगहरू लाग्ने, दीर्घरोगीको समस्या बल्झिने र विशेषगरी वृद्धवृद्धा तथा बालबालिकालाई बढी असर गर्छ।’ मुटुका रोगीहरूमा यसले हृदयघात (हार्ट अट्याक), मस्तिष्कघात (ब्रेन स्ट्रोक) र रक्तचाप बढाउने जस्ता समस्या निम्त्याउने गर्छ।

प्रदूषणको जोखिमबाट बच्न घरभित्र खाना पकाउँदा दाउराको सट्टा एलपीजी ग्यास वा विद्युतीय उपकरणको प्रयोग गर्न उनको सुझाव छ। घरबाहिर निस्कँदा सडकमा कम समय बिताउने र गाडी चलाउँदा सिसा बन्द गरेर ‘इनर सर्कुलेसन’ मा राख्न प्रहरीले आग्रह गरेको छ।

खानपीनमा हरियो सागसब्जी, भिटामिन सी, भिटामिन ई, एन्टिअक्सिडेन्ट र ओमेगा-३ फ्याटी एसिडयुक्त खानेकुराको सेवन बढाउन र नियमित व्यायाम गर्न डा. यादवले सुझाव दिएका छन्।

प्रदूषणबाट जोगिन ‘एन-९५’ मास्कको प्रयोगलाई सबैभन्दा प्रभावकारी मानिन्छ। यो उपलब्ध नभएको खण्डमा सर्जिकल मास्क भए पनि अनिवार्य लगाउनुपर्छ। सर्जिकल मास्कले पीएम २.५ लाई पूर्ण रूपमा नछान्ने भए पनि केही हदसम्म सुरक्षा प्रदान गर्ने गर्छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App