२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

अविरल वर्षा र चट्याङले सुर्खेत र दैलेखमा क्षति

अविरल वर्षासँगै आएको चट्याङका कारण सुर्खेत र दैलेखका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै नागरिकहरू पनि घाइते भएका छन्। भारी वर्षाका कारण कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ।

बिहिबार साँझ परेको अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका–६ स्थित नेपाली सेनाले सञ्चालन गरेको आर्मी स्कुलको कम्पाउण्डको करिब १० मिटर पर्खाल भत्किएको छ। पर्खाल भत्किए पनि अन्य क्षति नभएको प्रहरीले जनाएको छ।

त्यस्तै, वीरेन्द्रनगर–८ स्थित मोडेल कलेज नजिक चार लेनको सडकको नाला थुनिएपछि आसपासका चाररपाँच वटा पसलमा पानी पसेको छ।

पानी निकासका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक जितबहादुर खड्काको टोली खटिएको थियो। सडक नै आवागमनमा समस्या देखिएको छ।

यस्तै, वीरेन्द्रनगर–१४ लादेमा चट्याङ पर्दा अन्दाजी ३७ वर्षीया तुल्सी बुढाथोकी घाइते भएकी छन्। घरको आँगनमा चट्याङ पर्दा घाइते भएकी बुढाथोकीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पठाइएको छ।

यस्तै, बराहताल गाउँपालिका–७ औलिसेमा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडक अवरुद्ध भएपछि प्रहरी चौकी बड्डीचौरबाट ट्राफिक प्रहरीसहित टोली घटनास्थलमा खटिएको छ।

पहिरो हटाउने विषयमा सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, दैलेखको आठबीस नगरपालिका–७ लुडसैनमा चट्याङ लागेर दुर्गा मिजारको खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते मिजारलाई उपचारका लागि राकम कर्णाली लगिएको प्रहरीले जनाएको छ।

वर्षा जारी रहेकाले नदी तथा खोलानाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: २५ भाद्र २०८३ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App