स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ उपलब्ध गराएको छ।
पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएपछि कृषकलाई हल गोरु पालनतर्फ आकर्षित गर्न ११५ जना कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो।
एक सय १५ कृषकका ११६ हल गोरुको आवेदन परेकाले सोही आधारमा प्रतिकृषक पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए।
पछिल्लो समय यान्त्रिक हलो (पावर टिलर) को प्रयोग बढ्दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण क्षेत्रमा सहज रूपमा इन्धन नपाइने तथा यान्त्रिक हलो बिग्रिएपछि मर्मत गर्न कठिन हुने भएकाले कृषकलाई हल गोरु पालनतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिइएको हो।
चालु आर्थिक वर्ष २०८२।०८३ का लागि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउन आवेदन माग गरेको थियो। सूचनाका आधारमा नगरपालिकाका ११ वटै वडाबाट ११६ हल गोरु पाल्ने कृषकले आवेदन दिएपछि प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक महादेव बनले जानकारी दिए।
उनका अनुसार नगरपालिकाले हल गोरुसम्बन्धी प्रोत्साहन रकम उपलब्ध गराउन कृषकसँग आवेदन माग गरेको थियो। सूचनाअनुसार कृषकले गोरुको बीमा गरेको, गोठमा रहेको हल गोरुको तस्बिरसहित आवेदन दिएपछि नगरपालिकाले अनुगमन गरेर कृषकको खातामा रकम भुक्तानी गरेको हो।
नगरपालिकाभित्र हल गोरुको सङ्ख्या आवेदन परेकाभन्दा धेरै रहेको तर जानकारी पाएर पनि केही कृषकले आवेदन नदिएको हुन सक्ने बनको दाबी छ।
आगामी आर्थिक वर्ष २०८३।०८४ मा पनि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ। आगामी आवमा चालु आवमा प्रोत्साहन अनुदान नपाएका हल गोरु पाल्ने कृषकले अनुदान पाउने भएका छन्।
प्रकाशित: १६ असार २०८३ ०७:५६ मंगलबार





