शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटको प्रशंसा गरेका छन्।
मकाउमा भएको क्वाटरफाइनल भिडन्तमा सानदार जित निकाल्दै रविन्द्रले विश्वकै प्रतिष्ठित मञ्चमा स्थान सुरक्षित गरेपछि मन्त्री पोखरेलले खुसी व्यक्त गरेका हुन्।
मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत रविन्द्रको उपलब्धिप्रति सम्मान प्रकट गर्दै लेखेका छन्, ‘टेक अ बो, रविन्द्र ढाँट !’ (रविन्द्र ढाँटलाई नमन)।
अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा नेपालको नाम चम्काएको भन्दै उनले रविन्द्रको मेहेनत र कौशलको कदर गरे।
बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको ब्यान्टमवेट विधाको खेलमा रविन्द्रले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा पराजित गरेका थिए। यो जितसँगै रविन्द्र ‘रोड टु युएफसी’ को सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेर इतिहास रचेका छन्।
‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्रको सङ्घर्षपूर्ण यात्रा र अन्तर्राष्ट्रिय मञ्चमा उनले पाएको सफलतालाई लिएर अहिले देशभर चर्चा र खुसीयाली छ।
प्रकाशित: १४ जेष्ठ २०८३ २०:०० बिहीबार





