नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारततर्फ तस्करी गर्न लुकाइ राखिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गर्ने क्रममा रौतहट प्रहरी र स्थानीयबीच झडप हुँदा तीन प्रहरीसहित ६ जना घाइते भएका छन्।
जिल्लाको पश्चिमी भेगमा पर्ने बौधीमाई नगरपालिका ७ बाँडा बंकुल टोलस्थित सीमावर्ती क्षेत्रमा त्रिपालले छोपेर भण्डारण गरी राखेको फर्सीको बिउ नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि स्थानीयले अवरोध गरेपछि आइतबार राति दुवै पक्षबिच झडप समेत भएको थियो।
दुवै पक्षबिच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास र रबर बुलेट समेत चलाएर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
झडपमा बौधीमाई नगरपालिका–७ निवासी ४० वर्षीया सुदामा देवी राय, ४० वर्षीया हिरा मोतिया देवी यादव तथा ४५ वर्षीय जयलाल ठाकुर हजाम घाइते भएका छन्। घाइतेमध्ये जयलाल ठाकुर बौधीमाई नगरपालिका पूर्व कार्यपालिका सदस्य हुन्। उनको खुट्टामा गोली लागेको छ र चन्द्र ज्योति कान्ती अस्पताल, बंकुलमा उपचार भइरहेको छ। अन्य दुई महिलाको अवस्था सामान्य रहेको छ।
यता प्रहरीतर्फ प्रहरी वरिष्ठ हवल्दार गजेन्द्र यादव, प्रहरी सहायक हवल्दार सम्झना चौधरी र देवराज महतो घाइते भएका छन्। घाइते प्रहरीको अवस्था सामान्य रहेको बुझिएको छ।
प्रहरीले घटनास्थलबाट ३२२ बोरा फर्सीको बिउ बरामद गरेको छ। प्रतिबोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बरामद फर्सीको बिउको प्रतिबोरा २८ हजार रुपैयाँका दरले मूल्यांकन गरी प्रहरीले ९० लाख १६ हजार रुपैयाँ बराबरको बिउ बरामद गरेको जनाएको छ।
बरामद गरिएको फर्सीको बिउ कसको हो, कहाँबाट ल्याइएको हो र भारततर्फ तस्करीको उद्देश्यले भण्डारण गरिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा कानुनी प्रक्रिया समेत अगाडि बढाइएको जानकारी दिएको छ।
प्रकाशित: २८ जेष्ठ २०८३ १०:२६ बिहीबार





