कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको कार्गोबाट लाखौँ रुपैयाँ बराबरका नेपाली र भारतीय चुरोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार आइतबार कार्गो भवनमार्फत ३५ वटा पोका अस्ट्रेलिया पठाउने तयारी गरिएको थियो। पिक एभिएसन प्रालिका एजेन्ट अभिनव राईमार्फत अस्ट्रेलिया बस्ने सौरभ भण्डारीका नाममा पठाइँदै गरेको उक्त कार्गोमा कुकुरको खाना रहेको बताइएको थियो।
तर भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले एक्स–रे स्क्रिनिङ गर्दा शंका लागेपछि जाँच गर्दा ३५ मध्ये ३२ वटा पोकाबाट नेपाली र भारतीय विभिन्न ब्रान्डका चुरोट फेला परेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
प्रारम्भिक विवरणअनुसार बरामद चुरोटको बजार मूल्य करिब चार लाख ३० हजार रुपैयाँ छ।
घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद गरिएका सबै कार्गो पोका त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १८:५६ सोमबार





