१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

आईजीपी थापा भन्छन्: पाँच महिने कार्यकाल चुनौतीपूर्ण रह्यो, गलत गरेँ भन्ने ‘फिलिङ्स’ भएको छैन

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले आफ्नो पाँच महिने कार्यकाल निकै चुनौतीपूर्ण रहेको बताएका छन्। सडक आन्दोलनदेखि नयाँ प्रकृतिका आर्थिक र साइबर अपराधको चाप, अनि सीमित स्रोत-साधनका बीच काम गर्नुपरेको अनुभव उनले सुनाएका हुन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै आईजीपी थापाले आफ्नो नियुक्ति लगत्तै श्रृंखलाबद्ध आन्दोलन र प्रदर्शनको सामना गर्नुपरेको बताए।

‘चैत ५ गते मैले दर्ज्यानी चिन्ह प्राप्त गरेँ, चैत ७-८ गतेबाटै यहाँ धेरै प्रकारका आन्दोलनहरू, प्रदर्शनहरू सुरु भए,’ उनले भने, ‘शिक्षक, मिटरब्याज पीडित, सहकारी पीडितका आन्दोलन थिए। सडक सबै उहाँहरूको कब्जामा थियो। माइतीघर मण्डलामा २०-२५ वटा समूहको धर्ना, रिले अनसन चलिरहेको थियो।’

यति मात्र नभई व्यवस्थाविरोधी र तराईका केही जिल्लामा भएका धार्मिक आन्दोलनले पनि प्रहरीलाई थप व्यस्त बनाएको उनले बताए।

आईजीपी थापाले सवारी दुर्घटना, लागुऔषध दुर्व्यसन, साइबर अपराध र आत्महत्या जस्ता घटना बढिरहेको बताए। यसका साथै हुण्डी, क्रिप्टोकरेन्सी, मिटरब्याज जस्ता वित्तीय अपराधसँग सम्बन्धित नयाँ कानूनले प्रहरीको कार्यबोझ थपिएको उनको भनाइ थियो।

‘यी सबै विषयमा प्रहरीले नै अनुसन्धान गर्नुपर्ने भएपछि हाम्रो काम थपियो,’ उनले भने।

प्रहरी संगठनले जनशक्ति र स्रोतसाधनको अभाव झेलिरहेको पनि उनले स्वीकार गरे। ‘हामीसँग ७९,५४० को दरबन्दी छ, तर ७६ हजार मात्रै कार्यरत हुनुहुन्छ। ३६ सय जति भर्ना प्रक्रियामा छ,’ उनले भने, ‘अहिलेको माग अनुसार ३१ हजार जनशक्ति थप गर्नुपर्छ भन्ने छ, त्यति नभए पनि कम्तिमा ५ हजार तत्काल थप गर्नुपर्ने देखिन्छ।’

उनले प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘हामी अझै २० वर्ष पुराना गाडीहरू चलाइरहेका छौं।’

यद्यपि, यी सबै चुनौतीका बाबजुद आफूले संगठन प्रमुखको रुपमा टिम परिचालन गरेर काम गरेको र कुनै पश्चाताप नरहेको उनले बताए। ‘मैले यो चाहिँ गलत गरेँ भन्ने मलाई त्यस्तो फिलिङ्स भएको छैन,’ थापाले भने, ‘संगठन प्रमुख भनेको संगठन हो। संगठनले एउटा टिम स्पिरिटमा, टिम परिचालन गरेर काम गरेको हो।’ 

प्रकाशित: ४ भाद्र २०८२ २०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App