२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

आईजी कार्कीले भने- नाङ्गै ड्युटी गर्दा नदेख्ने, प्रमाणविहीन आरोपले मनोबल नगिराऊ

क्याप्शन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राज्यले न्यूनतम स्रोतसाधनसमेत उपलब्ध नगराउँदा प्रहरीले मागेर र उधारोका भरमा देशको सुरक्षा तथा चुनाव गराउनुपरेको भन्दै दुःखेसो पोखेका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले जुत्ता, मोजा र पोशाक खरिदमा भ्रष्टाचार भएको आरोप लगाएपछि प्रहरी महानिरीक्षक कार्कीले त्यसको प्रतिवाद गरेका हुन्।

‘पोहोर भदौ २३ र २४ गतेको घटनापछि ५९३ वटा गाडी जलेका थिए। प्रहरीले युनिफर्म बिना, खाली खुट्टा नाङ्गै ड्युटी गरेको छ,’ संसदीय समितिमा बोल्दै कार्कीले भने, ‘त्यो छ महिनासम्म कसरी गाडी चलाइस् ? गस्ती कसरी गरिस् ? सुरक्षाको प्रत्याभूति कसरी दिइस् ? भनेर कसैले सोधेन। चुनाव हुनु २० दिन अगाडि दाताले दिएका गाडी पाएर बल्ल चुनाव गराइएको हो।’

प्रहरीका भत्किएका र क्षतविक्षत भएका चौकीहरू जनताले बनाइदिएको स्मरण गराउँदै उनले प्रहरीका लागि आवश्यक सामग्री खरिद गर्न खोज्दा छानबिन र अख्तियारको डर देखाएर फाइल रोक्ने प्रवृत्तिले सङ्गठनलाई असर परेको बताए।

विगतको सुडान घोटाला काण्डको त्रासका कारण नेतृत्वमा पुगेकाहरू निर्णय गर्न डराउने गरेको र त्यसको प्रत्यक्ष मार फिल्डमा खटिने प्रहरीमा परेको उनको तर्क थियो।

प्रहरी पनि देशको नागरिक भएको र उसले न्यूनतम मानवीय सम्मान पाउनुपर्ने उल्लेख गर्दै महानिरीक्षक कार्कीले प्रमाणविहीन आरोप लगाएर सुरक्षा सङ्गठनको मनोबल नगिराउन चेतावनीसमेत दिए।

प्रकाशित: २७ श्रावण २०८३ २२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App