२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

‘विचारले मात्र देश बन्दैन, अबको बाटो आर्थिक आत्मनिर्भरता र सुशासन’

नेपाल रिपब्लिक मिडियाका अध्यक्ष शोभा ज्ञवालीसँग कार्यक्रममा सहभागी प्यानलिस्ट। तस्बिर: कृतिका पौडेल/नागरिक

नेपालका प्रमुख राजनीतिक दलका नेता तथा निजी क्षेत्रका अगुवाहरूले मुलुकको समृद्धि र आत्मनिर्भरताका लागि परम्परागत शैली र केवल राजनीतिक विचारले मात्र अब काम नदिने निष्कर्ष निकालेका छन्।

उनीहरूले अबको राजनीति र अर्थतन्त्रलाई ‘हाई भ्यालु’ उत्पादन, लगानीको सुरक्षा र सुशासनसँग जोड्नुपर्नेमा एकमत जाहेर गरे।

बिहीबार नेपाल रिपब्लिक मिडियाद्धारा आयोजित ‘क्रियटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू तथा निजी क्षेत्रका प्रतिनिधिले आ-आफ्नो धारणा राखेका हुन्।

पुराना दलले डेलिभरी दिएको भए हाम्रो आवश्यकता हुने थिएन: समीक्षा बास्कोटा

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बास्कोटाले नेपालले परम्परागत कृषिमा भारत र चीनसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै ‘हाई भ्यालु क्रप्स’ मा जोड दिनुपर्ने बताइन्।

‘हामी उत्पादनको कुरा गर्छौं, तर धान-मकै फलाएर छिमेकीसँग प्रतिस्पर्धा गर्न सकिँदैन,’ बास्कोटाले भनिन्, ‘अब चिया, कफी, जडीबुटीजस्ता वस्तुमा भ्यालु एड गरेर निर्यात बढाउनुपर्छ।’

उनले पुराना राजनीतिक दलहरूले विचारको राजनीति धेरै गरेको तर डेलिभरी दिन नसकेको आरोप लगाइन्। ‘विचारले मात्र सुशासन दिएको भए, भ्रष्टाचार अन्त्य गरेको भए र रोजगारी सिर्जना गरिदिएको भए सायद आज हाम्रो आवश्यकता नै हुने थिएन,’ उनले भनिन्।

साथै, उनले विदेशमा रहेका नेपालीलाई मताधिकार र डिजिटल भोटिङ अबको अपरिहार्य आवश्यकता भएको जिकिर गरिन्।

घोषणापत्रमा अब सपना होइन, काम लेखौं: रघुजी पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले राजनीतिक स्वतन्त्रताले मात्र देश बलियो नहुने भन्दै आर्थिक आत्मनिर्भरतामा जोड दिए।

उनले विश्वका शक्ति राष्ट्रहरू पनि आर्थिक दबाबमा झुक्नुपरेको उदाहरण दिँदै नेपालले आफ्नो इकोनोमिक इन्ट्रेस्ट सुरक्षित गर्नुपर्ने बताए।

‘भारतसँग मात्र पारवहनमा भर पर्दा उद्योगीले कच्चा पदार्थ ल्याउनै महिना दिन कुर्नुपर्ने अवस्था छ, त्यसैले उत्तरतर्फको नाका र व्यापार विस्तार अबको आवश्यकता हो,’ पन्तले भने।

उनले राजनीतिक दलका घोषणापत्रहरू कार्यान्वयन हुन नसक्नुमा मिलिजुली सरकारको बाध्यता रहेको स्वीकार गर्दै भने, ‘अब घोषणापत्रमा धेरै ठूला सपना होइन, सरकारमा जाँदा कार्यान्वयन गर्न सकिने र प्रतिपक्षमा बस्दा खबरदारी गर्न सकिने विषय मात्र लेखौं।’

निजी क्षेत्र असुरक्षित हुँदा लगानी कसरी आउँछ ? : चण्डीराज ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले नेपालमा नीतिगत सहमति भए पनि कार्यान्वयन पक्ष सधैं फितलो रहेको गुनासो गरे।

उनले द्वन्द्वकालमा ८४ अर्बको निर्यात व्यापार ध्वस्त भएको स्मरण गराउँदै अहिले पनि लगानीको वातावरण बन्न नसकेको बताए।

‘हामी लगानीका लागि उत्कृष्ट गन्तव्य भन्छौं, तर यहाँ अन्तर्राष्ट्रिय चेन होटेलहरूमा तोडफोड हुँदा राज्यले सुरक्षा दिन सक्दैन,’ ढकालले प्रश्न गरे, ‘यस्तो अवस्थामा वैदेशिक लगानी कसरी आउँछ ?’ उनले जेन-जीको विद्रोह र आक्रोशलाई देखाएर निजी सम्पत्तिमाथि हुने प्रहारले अर्थतन्त्रलाई माथि उकास्न नसकिने भन्दै राजनीतिक दलहरूले आफ्नो एटिच्युड सुधार्नुपर्नेमा जोड दिए।

गल्तीप्रति क्षमा माग्दै कांग्रेस बदलिएको छ: प्रताप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले कांग्रेसले विगतका कमीकमजोरी स्वीकार गर्दै आफूलाई रूपान्तरण गरेको बताए। उनले अबको कांग्रेसको संकल्प प्रस्तावको मुख्य आधार नै भर्खरै भएको जेन-जी विद्रोह हुने स्पष्ट पारे।

‘नागरिकले व्यवस्था होइन, अवस्था परिवर्तन खोजेका छन्। भदौमा देखिएको युवा विद्रोहलाई सम्बोधन गर्ने गरी हामीले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मूल मुद्दा बनाएका छौँ,’ पौडेलले भने।

उनले कांग्रेसले अब भौतिक विकासलाई मात्र नभई समुन्नत नेपाल र सम्मानित नेपालीको नारासहित व्यक्तिको खुसी, आत्मसम्मान र प्रगतिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले नेपालको अर्थतन्त्रलाई उकास्न युवा उद्यमशीलता, डिजिटल रूपान्तरण र राजनीतिक इमानदारिताको खाँचो रहेको निष्कर्ष निकालेका थिए।

प्रकाशित: २९ माघ २०८२ २०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App