नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले प्रहरी कर्मचारीको मनोबल बढाउने काम गर्ने बताएका छन्। २०८२ भदौ १३ गतेको निर्णयअनुसार आइजिपीमा पदोन्नति भएका खापुङले शान्ति सुव्यवस्था र अमनचयन तथा सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न एवं सामाजिक न्याय कायम गर्न प्रहरीको अहं भूमिका रहने भएकाले त्यसलाई निष्ठापूर्वक कार्यान्वयन गरी प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने कार्यमा दत्तचित्त भएर लाग्ने बताएका हुन्।
बिहीबार कार्यभार सम्हाल्दै खापुङले समाजको गतिशीलता र प्रविधिको विकाससँगै आपराधिक गतिविधिमा पनि नयाँनयाँ ढंगको प्रवृत्ति बढिरहेको अवस्थामा ती सबै आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने लक्ष्यतर्फ नेपाल प्रहरी अघि बढिरहेको बताएका थिए।
मुलुकप्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेको भन्दै उनले सरकारप्रति हार्दिक कृतज्ञतासहित आभार व्यक्त गरेका छन्। आइजिपी खापुङले प्रहरी महानिरीक्षक पद व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा सफल हुनेभन्दा पनि संस्था सफल हुनु अपरिहार्य रहेको र त्यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्ने बताएका थिए।
प्रहरी महानिरीक्षक खापुङ तेह्रथुम जिल्लाको साबिक मोराहाङ–५ हाल मेन्छ्यायेम गाउँपालिका–६ मा जन्मेका थिए। २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए। प्रहरी सेवामा साहसी प्रहरी अधिकृतका रूपमा पहिचान बनाएका खापुङ २०६४ साउन १ गते प्रहरी नायब उपरीक्षक, २०७३ पुस १३ गते प्रहरी उपरीक्षक, २०७७ वैशाख १७ गते प्रहरी वरिष्ठ उपरीक्षक र २०८० वैशाख ६ गते प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका थिए। २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा उनी बढुवा भएका हुन्।
मास्टर अफ आर्ट इन जेन्डर स्टडिजमा स्नातकोत्तर खापुङले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, एडभान्स्ड कोर्स अन मेनेजमेन्ट एन्ड डेभलपमेन्ट, स्टाबिलिटी पुलिस युनिट हाई लेभल कोर्स, बेसिक इन्टेलिजेन्स ट्रेनिङ, इन्भेस्टिगेटिभ इन्टरभ्यु ट्रेनिङ कोर्स, वर्कसप अन चिल्ड्रेन इन आम्र्ड कन्फ्लिक्ट, अपराध अनुसन्धानलगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गरेका छन्।
खापुङले प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी गण नम्बर २, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, महानगरीय प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी गण मुख्यालय नेपालगन्ज बाँके, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।
त्यसैगरी तत्कालीन अञ्चल प्रहरी कार्यालय धौलागिरि, महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, इलाका प्रहरी कार्यालय धरान सुनसरी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार, महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौं, प्रहरी प्रधान कार्यालय प्रशासन विभागलगायत युनिटमा पनि उनी खटिएका थिए।
प्रहरी उपरीक्षक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं अन्वेषण योजना तथा विकास शाखा, जिल्ला प्रहरी कार्यालय बागलुङ, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए। विद्यमान प्रहरी नियमावली कायम रहे आगामी कात्तिक २७ उनी अनिवार्य अवकाशमा जानेछन्।
प्रकाशित: २० भाद्र २०८२ ०८:४२ शुक्रबार

