१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

तौलिहवामा ‘म जिम्मेवार चालक’ अभियान

सडक दुर्घटना न्यूनीकरणका लागि कपिलवस्तुको तौलिहवामा ‘म जिम्मेवार चालक’ अभियान सञ्चालन गरिएको छ। सवारी साधनको चापसँगै सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सदरमुकाम तौलिहवामा लक्षित सो अभियान सुरु गरेको हो।

अभियानको क्रममा ‘म जिम्मेवार चालक’ भन्ने लेखिएको पोस्टर दुई र चार पांग्रे सवारी तथा अन्य सवारी साधनमा टाँसिएको थियो। तौलिहवाको बहादुरगञ्ज जाने चोकमा सो अभियानको शुभारम्भ गरिएको थियो। ट्राफिक प्रतिबद्धताअन्तर्गत पम्प्लेट टाँस्ने तथा वितरण कार्यक्रम गरिएको हो।

ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो। मोटरसाइकल, बस, ट्र्याक्टर, टेम्पो, कार तथा टिप्पर गरी ७० वटा सवारी साधनमा ‘म जिम्मेवार चालक’ लेखिएको स्टिकर टाँस्नुका साथै पम्प्लेट वितरण गरिएको न्यौपानेले बताए।

उनले अभियान शुभारम्भ गर्नुभन्दा एक दिन अघि ट्राफिक नियम पालना र सचेतनाका लागि चोक–चोकमा माइकिङसमेत गरिएको जानकारी दिए।

सवारीको चाप बढेको छ, दुर्घटना पनि बढ्दै गएका छन्। यसको न्यूनीकरणका लागि सवारी चालकले अनिवार्य ट्राफिक नियम पालना गरौँ भन्ने सन्देश दिन यो अभियान थालेका हौँ,’ उनले भने।

सवारी साधन चालकले आफू जिम्मेवार बनी सवारी चलाएमा दुर्घटना धेरै हदसम्म न्यूनीकरण हुन सक्ने उनको भनाइ छ। चालकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउने भएकाले सचेत र जिम्मेवार भएर सवारी चलाउनुपर्नेमा उनले जोड दिए।

यसैगरी ट्राफिक प्रहरीले तौलिहवाका विभिन्न चोकमा पुगेर हेल्मेट प्रयोग नगर्ने, मोटरसाइकल चालक र पछाडि बस्ने दुबैजनाले हेल्मेट नलगाउने, सिटबेल्ट नबाँध्ने तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउनलगायतका सचेतनामूलक सन्देश दिएको थियो।

प्रकाशित: ८ वैशाख २०८३ २०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App