राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति-सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।
आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न आग्रह गरेको छ।
सोमबार जारी विज्ञप्तिमा आयोगले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधानमा सहयोग गर्न पनि आयोगले अनुरोध गरेको छ।
आयोगले घटनाबारे आफ्नै तर्फबाट पनि अनुसन्धान अघि बढाएको जनाएको छ। आयोगको कोशी प्रदेश कार्यालय, विराटनगरले प्रारम्भिक अनुगमन सुरु गरिसकेको र प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, अस्पताल प्रशासन तथा स्थानीयसँग घटनाबारे जानकारी संकलन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
प्रारम्भिक अनुगमनअनुसार पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने क्रममा चर्किँदै दुई समुदायबीच झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको तथा नौ जना घाइते भएको आयोगले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि आयोगले उल्लेख गरेको छ।
आयोगले घटनालाई मानव अधिकारको दृष्टिकोणबाट सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाउँदै निष्कर्षका आधारमा आवश्यक सिफारिस गर्ने जनाएको छ।
प्रकाशित: ११ श्रावण २०८३ १७:२४ सोमबार





