२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

बाढी प्रभावित नागरिकको जीवन, अधिकार र जलवायु न्यायका लागि मानवअधिकार एलाइन्सको अपिल

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) ले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको जीवन, अधिकार र सुरक्षाको सुनिश्चितता गर्न सरकार तथा सम्बन्धित निकायसँग अपिल गरेको छ।

बाढी आएको १३ दिन बितिसक्दा पनि उद्धार, खोजी तथा राहत कार्य जारी रहेको, नागरिकहरू बेपत्ता तथा विस्थापित भएको र धेरै परिवार आफन्तको खोजीमा रहेको अवस्थाप्रति एलाइन्सले गहिरो दुःख तथा चिन्ता व्यक्त गरेको छ।

विपद्मा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एलाइन्सले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई उच्च प्राथमिकता दिन, मृतकको पहिचान तथा शवको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न तथा परिवारजनले सूचना, सहभागिता, अन्त्येष्टि र आवश्यक सहयोग पाउने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

एलाइन्सले विपद् प्रभावित नागरिकको जीवन, सुरक्षा, गरिमा, आवास, खाद्य, स्वास्थ्य, स्वच्छ खानेपानी, शिक्षा तथा संरक्षणको अधिकार सुनिश्चित गर्नु राज्य र सबै सरोकारवालाको दायित्व भएको जनाएको छ।

विस्थापित परिवारलाई सुरक्षित आश्रय, खाद्यान्न, खानेपानी, औषधि तथा अन्य अत्यावश्यक सामग्री विभेदरहित रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै एलाइन्सले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहको विशेष संरक्षण गर्न आग्रह गरेको छ।

त्यस्तै, बालबालिकाको स्वास्थ्य, पोषण तथा शिक्षाको निरन्तरता सुनिश्चित गर्न र प्रभावित नागरिकका लागि मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने जनाएको छ। पानीजन्य तथा संक्रामक रोगको सम्भावित प्रकोप रोक्न स्वास्थ्य निगरानी, सुरक्षित खानेपानी, फोहोर व्यवस्थापन तथा पर्याप्त औषधिको व्यवस्था गर्न पनि एलाइन्सले माग गरेको छ।

नेपालमा बढ्दो विपद् जोखिमलाई केवल प्राकृतिक घटनाका रूपमा मात्र नभई जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको असमान प्रभावका रूपमा हेर्नुपर्ने एलाइन्सको भनाइ छ। जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि नेपाली नागरिक, विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदायले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरिरहेको भन्दै नेपालले जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा दृढतापूर्वक उठाउनुपर्ने उसले जनाएको छ।

जलवायु न्याय, अनुकूलन सहयोग, पर्याप्त जलवायु वित्त तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि विकसित तथा उच्च कार्बन उत्सर्जन गर्ने मुलुकबाट आवश्यक क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने एलाइन्सले माग गरेको छ।

विपद्का बेला उद्धार, खोजी, राहत तथा उपचारमा अहोरात्र खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय, नागरिक समाज, गैरसरकारी तथा मानवीय संस्थालगायत सहयोगीप्रति एलाइन्सले सम्मान व्यक्त गरेको छ। साथै, आफ्ना सदस्य संस्थाहरूलाई स्थानीय आवश्यकता र क्षमताअनुसार उद्धार, राहत, स्वास्थ्य, संरक्षण तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहन आह्वान गरेको छ।

विपद्को यस संवेदनशील घडीमा शीघ्र उद्धार, राहतको न्यायोचित वितरण र बेपत्ताको खोजीमा कुनै कमी हुन नदिन तथा कुनै पनि प्रभावित नागरिक संरक्षणबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विपद् प्रतिकार्यमा एकजुट हुन, प्रभावित समुदायलाई साथ दिन र जलवायु न्यायको आवाज सशक्त बनाउन एलाइन्सले सबैमा अपिल गरेको छ।

प्रकाशित: २२ भाद्र २०८३ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App