१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

नेपालको हिमपहिरो केरुङमा कसरी बन्यो विनाशकारी लेदो ? चिनियाँ वैज्ञानिकले पत्ता लगाए कारण

भदाैं १० गते बिहान नेपालको लाङटाङ लिरुङको उत्तरी भिरालोमा गएको भीषण हिम तथा चट्टान पहिरो कसरी विनाशकारी लेदोमा परिणत भयो भन्ने तथ्य चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

चिनियाँ विज्ञान एकेडेमी (सीएएस) अन्तर्गतको ‘इन्स्टिच्युट अफ तिब्बती प्लेटो रिसर्च’ को नेतृत्वमा रहेको अनुसन्धान टोलीले यस विपद्को कारण र यसको विनाशक क्षमता बढ्नुको पछाडिको संयन्त्र पत्ता लगाएको हो।

लाङटाङबाट खसेको उक्त हिमपहिरो गहिरो खोँच हुँदै तीव्र गतिमा तल झरेर लेदोमा परिणत भई चीनको सिजाङ  क्षेत्रस्थित केरुङ जिलोङ पोर्टमा बज्रिँदा ठूलो धनजनको क्षति हुनुका साथै पूर्वाधारहरू ध्वस्त भएका थिए।

विपद्लगत्तै सीएएसअन्तर्गतको नेसनल तिब्बती प्लेटो डाटा सेन्टरले रिमोट सेन्सिङ अवलोकन, बेसलाइन डाटा र मोडेल सिमुलेसनलाई एकीकृत गरी घटनाको द्रुत मूल्याङ्कन गरेको थियो।

टोलीले विपद्अघि र पछिका स्याटेलाइट तस्बिर, टोपोग्राफिक डाटा, भूकम्प मापन केन्द्रका रेकर्ड र भिडियो सामग्रीहरूको विश्लेषण गर्दै उच्च हिमाली क्षेत्रमा भएको हिमस्खलनदेखि केरुङ बन्दरगाहसम्म पुग्दाको सम्पूर्ण शृङ्खलाको पुनर्निर्माण गरेको छ।

अनुसन्धानले यो विपद् कुनै छोटो समयको भारी वर्षाका कारण मात्र नभएको निष्कर्ष निकालेको छ। विपद् हुनुअघिका महिनाहरूमा उक्त क्षेत्रमा सामान्यभन्दा कम वर्षा भएको र तत्काल कुनै ठूलो वर्षा नभएको पाइएको छ।

यसको सट्टा, वसन्त र ग्रीष्म ऋतुमा बढेको तापक्रम, हिमनदीको निरन्तर र तीव्र गति, तथा पर्माफ्रोस्ट पग्लिँदा हिउँ र चट्टानबीचको सतह कमजोर बनेको अनुसन्धानमा देखिएको छ। जलवायु परिवर्तन र बढ्दो तापक्रमको लामो प्रभावपछि हिमनदी अचानक अस्थिर भई खसेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

विनाशको स्तर यति धेरै हुनुको मुख्य कारण हिमपहिरोको सुरुवाती आकार मात्र नभई, तल झर्ने क्रममा यसले बाटोबाट थप्दै ल्याएको भग्नावशेष रहेको अध्ययनको सबैभन्दा महत्वपूर्ण निष्कर्ष छ।

करिब २२ किलोमिटर लामो नदीको खोँच हुँदै तल झर्दा हिउँ र चट्टानको भग्नावशेषले खोलाको सतह र किनारबाट निरन्तर माटो, ढुंगा र चट्टान बगाउँदै नदीको पानीसँग मिसिएको थियो। यही प्रक्रियाले उच्च हिमाली क्षेत्रको हिमपहिरोलाई केरुङ बन्दरगाहमा तहसनहस मच्चाउने विशाल लेदोमा परिणत गरेको थियो।

अनुसन्धानकर्ताहरूले मुख्य घटना हुनुभन्दा केही घण्टा अगाडि नै सम्भावित महत्वपूर्ण संकेतहरू पनि फेला पारेका छन्। भूकम्प मापन केन्द्रका रेकर्डहरूले ठूलो हिमस्खलन हुनुभन्दा केही घण्टा अघि उद्गमस्थलमा असामान्य संकेतहरू देखाएका थिए। तीमध्ये केही संकेतहरू घटनास्थलमा देखिएका साना आकारका हिउँ र बरफको चालसँग मेल खाएका थिए। यसले ठूलो पहिरो खस्नुअघि नै साना आकारका हलचलहरू भएको पुष्टि गर्छ।

यसले आगामी दिनमा यस्ता उच्च हिमाली विपद्को अनुगमन र पूर्वसूचना प्रणाली विकास गर्न नयाँ सूत्र प्रदान गरेको अनुसन्धान टोलीले जनाएको छ।

जलवायु परिवर्तनको पृष्ठभूमिमा, अब हिमाली क्षेत्रको जोखिम मूल्याङ्कन गर्दा उद्गमस्थलको हिउँ वा चट्टानको मात्रालाई मात्र हेरेर नपुग्ने विज्ञहरूको भनाइ छ।

पहाडबाट कति हिउँ खस्यो भन्ने मात्र नभई, नदीको खोँचबाट कति धेरै भग्नावशेष थपिन सक्छ र त्यसको बाटोमा कस्ता पूर्वाधार तथा मानव बस्ती छन् भन्ने सम्पूर्ण शृङ्खलाको बृहत् मूल्याङ्कन गर्न अनुसन्धानकर्ताहरूले जोड दिएका छन्।

यस अनुसन्धानले हिमालय क्षेत्रमा सीमापार विपद् अनुगमन, पूर्वसूचना, जोखिम मूल्याङ्कन र विपद्पछिको उद्धार तथा पुनर्निर्माणका लागि वैज्ञानिक आधार प्रदान गरेको छ।

यस अध्ययन सीएएस ‘इन्स्टिच्युट अफ तिब्बती प्लेटो रिसर्च’, युनान युनिभर्सिटी, चाइनिज युनिभर्सिटी अफ हङकङ, वुहान युनिभर्सिटी, सेन्ट्रल साउथ युनिभर्सिटी, सीएएस नर्थवेस्ट इन्स्टिच्युट अफ इको–इन्भाइरोन्मेन्ट एन्ड रिसोर्स लगायतका विभिन्न प्राज्ञिक तथा अनुसन्धान संस्थाहरूले संयुक्त रूपमा गरेका हुन्।

प्रकाशित: १७ भाद्र २०८३ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App