१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

प्रतिनिधिसभा निर्वाचन: भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो।

विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा सचेतना फैलाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास लिइएको छ।  

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए। कार्यक्रममा विद्यार्थीलाई मतदाता नामावली, मतदान प्रक्रिया, गोप्य मतदानको महत्व तथा लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिकाबारे जानकारी दिइएको थियो।

प्रमुख सुवेदीका अनुसार विद्यालयस्तर मतदाता शिक्षा कार्यक्रम २०८२ अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ। ‘विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मतदाता शिक्षा पुर्याउने हाम्रो लक्ष्य हो’, उनले भने।

मुख्य रूपमा कक्षा ११ र १२ विद्यार्थीलाई लक्षित गरेर विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए । विद्यालयलाई लक्षित गरेर निर्वाचन कार्यालयले सञ्चालन गरिरहेको यो कार्यक्रम प्रभावकारी रहेको उनको भनाइ छ।

 जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा एक लाख २५ हजार ७६६ मतदाता सहभागी हुनेछन्। मतदाता शिक्षा कार्यक्रमले निर्वाचनप्रति जनचासो बढाउनुका साथै जिम्मेवार र सचेत मतदाता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ पुस २०८२ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App