उदयपुर र खोटाङलाई छोटो दूरीबाट जोड्ने सडक निर्माणको वर्षौँदेखिको प्रमुख अवरोध मानिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्तीभीर अन्ततः फुटाइएको छ। भीरको चट्टान काटेर सडक मार्ग खुलाइएपछि रेग्मीटार–आहाले–दिक्तेल सडक सञ्चालनमा आएको छ।
उदयपुरको गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्म सोझो दूरीमा जोड्ने लक्ष्यसहित निर्माण गरिएको यो सडकलाई क्षेत्रीय यातायात पहुँच विस्तारका हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। साप्सु खोलाको किनारस्थित रेग्मीटारबाट आहाले हुँदै दिक्तेल जोड्ने सडक निर्माणका क्रममा सबैभन्दा कठिन मानिएको घर्तीभीर पार गर्न झण्डै दुई साताको निरन्तर प्रयास गरिएको थियो।
सडक निर्माणको रेखदेख गरिरहेको भौतिक पूर्वाधार विकास कार्यालय दिक्तेलका अनुसार वर्षौँदेखि चुनौती बनेको उक्त चट्टानी भीर उच्च जोखिमका बीच भर्खरै फुटाइएको हो। निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले झण्डै पाँच महिनाको निरन्तर प्रयासपछि चट्टान काट्दै सडक मार्ग तयार पारेको जनाएको छ। कम्पनीका प्रतिनिधि अर्जुन बरालका अनुसार दुवैतर्फबाट जोखिम मोलेर चट्टान काट्दै अन्ततः असार ११ गते भीर छिचोल्न सफलता मिलेको हो।
यससँगै रेग्मीटार–आहाले–दिक्तेल सडक स्तरोन्नति आयोजनाको काम सम्पन्न भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले प्रदेश सरकारमार्फत १ करोड ७ लाख ७८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०८२ माघ ११ गते सम्झौता भएको आयोजनाको काम सम्पन्न गर्ने म्याद जेठ ३१ गतेसम्म भए पनि भीर फोड्ने काम केही ढिलो गरी सम्पन्न भएको हो।
भीर फुटाएर सडक खुलाइएपछि शनिबार पूर्वप्रदेश भौतिक पूर्वाधार विकासमन्त्री तथा सांसद भूपेन्द्र राई ले सडक उद्घाटन गरेका छन्। नयाँ सडक सञ्चालनमा आएपछि सगरमाथा लोकमार्ग हुँदै महुरे–बुईपा–राजापानी–रेग्मीटार–फोक्सिङटार भएर गाईघाट पुग्नुपर्ने लामो यात्रा छोटिएर दिक्तेलबाट आहाले–राजापानी हुँदै सिधै रेग्मीटारमा जोडिन सकिने भएको छ।
स्थानीयका अनुसार विगतमा पटक–पटक प्रयास भए पनि कसैले घर्तीभीर फुटाएर सडक बनाउने आँट गर्न सकेका थिएनन्। मौरी पाइने भएकाले ‘महभीर’ नामले समेत चिनिने यो चट्टानी भीर विगतमा पैदल यात्रु, ढाक्रे र खच्चडका लागि जोखिमपूर्ण मार्ग थियो। भीरबाट लडेर धेरैले ज्यान गुमाउने तथा घाइते हुने घटनासमेत हुने गरेको स्थानीय बुढापाकाले स्मरण गर्छन्।
सडक निर्माणको सबैभन्दा जोखिमपूर्ण चरण पूरा गर्ने एक्स्काभेटर अपरेटर सिन्धुलीका प्रकाश लामा र हेटौंडाका प्रकाश पाख्रिनलाई उद्घाटन कार्यक्रममा सम्मान गरिएको छ। ज्यानको जोखिम मोलेर भीर फुटाउने कार्यमा योगदान पुर्याएको भन्दै उनीहरूलाई नगद र सम्मानपत्र प्रदान गरिएको हो। निर्माण व्यवसायी अर्जुन बराललाई पनि सम्मान गरिएको छ।
स्थानीयवासीले दशकौँदेखि विकासको बाधक बनेको घर्तीभीर फुटाएर सडक सञ्जाल विस्तार हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनीहरूका अनुसार यस्तो कठिन भूगोलमा काम गर्ने श्रमिक, अपरेटर र प्राविधिकहरूको योगदानलाई सम्मान र स्मरण गर्नुपर्छ।
प्रकाशित: १४ असार २०८३ १८:२० आइतबार





