सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको हिसांत्मक घटनापछि पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहा गर्न संयुक्त हिन्दु मोर्चा सुनसरीले माग गरेको छ।
मोर्चाका संयोजक कल्याण यादव (कपिल) ले जिल्ला प्रशासन कार्यालय, सुनसरीमा बुझाएको ज्ञापन पत्रमा घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
ज्ञापन पत्रमा कप्तानगञ्जसँगै सुनसरीका विभिन्न स्थानमा हिन्दु समुदायमाथि भएको भनिएका हिंसात्मक घटना, आगजनी, कुटपिट, तोडफोडलगायतका विषयमा निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
धार्मिकस्थल, मन्दिर, घर तथा पसलमा भएको भनिएको क्षति र आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न पनि मोर्चाले माग गरेको छ।
मोर्चाले सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने, धम्की दिने तथा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने जनाएको छ।
त्यसैगरी, शान्तिपूर्ण आन्दोलनमा सहभागी युवालाई आरोप, प्रमाण तथा कानुनी आधारबिना पक्राउ नगर्न र पक्राउ परेकामध्ये निर्दोषलाई तत्काल रिहा गर्न माग गरिएको छ।
कुनै व्यक्तिमाथि अभियोग कायम गर्नुपर्ने अवस्था भए पारदर्शी र न्यायोचित कानुनी प्रक्रियाबाट अघि बढाउन मोर्चाले आग्रह गरेको छ।
ज्ञापन पत्रमा हिन्दु समुदायको धार्मिक तथा सांस्कृतिक आस्था, संस्कार, परम्परा, रीतिरिवाज र सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्मान हुने वातावरण बनाउनसमेत प्रशासनसँग माग गरिएको छ।
चाडपर्वका समयमा भय र त्रासरहित वातावरण सुनिश्चित गर्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने मोर्चाको भनाइ छ।
सुनसरीमा साम्प्रदायिक सद्भाव, सामाजिक शान्ति र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी कुनै पनि हिन्दु धर्मावलम्बीमाथि व्यक्तिगत वा सामूहिक दोषारोपण तथा प्रतिशोधको वातावरण सिर्जना हुन नदिन मोर्चाले आग्रह गरेको छ।
मोर्चाले भोक्राहा नरसिंहको चिरौली चोकमा हिन्दु समुदायका पसलमा भएको भनिएको आगजनी तथा त्यहाँका जनप्रतिनिधिबाट हिन्दुहरूलाई पलायन गर्न र व्यापार–व्यवसाय गर्न नदिने अभिव्यक्ति आएको विषयमा समेत छानबिन गर्न माग गरेको छ। हिन्दु समुदायले ज्ञापनपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयमा धर्ना र विरोध समेत गरे।
कप्तानगञ्ज घटनापछि छ जना मुस्लिम समुदायका युवा पक्राउ गरेमा चार जना छुटिसकेका छन् भने अन्य दुई जनामाथि अनुसन्धान भइरहेको छ।
यस्तै, हिन्दु समुदायका व्यक्तिहरू पनि पक्राउ परेका छन्। यद्यपि, प्रहरीले पक्राउ परेकाको विवरण सार्वजनिक गरेको छैन।
कप्तानगञ्जमा भएको घटनामा तीन जनाको मृत्यु भएको थियो। सो घटनामा घाइते भएकामध्ये तीन जना उपचारपछि घर फर्किइसकेका छन्। अन्य तीन जना अहिले पनि उपचार भइरहेको छ।
घटना मुस्लिम समुदायको मोहर्रम मेलाको अवसरमा असार १४ गते बजारको बिच भागमा झण्डा गाडिएको थियो। त्यही स्थानमा साउनमा बोलबम परेकाले हिन्दु समुदायले झण्डा गाडेका थिए।
यो विवाद वडाध्यक्ष र गाउँपालिका अध्यक्षसम्म पुगेको थियो। साउन १० गते भने बोलबम जान लागेका युवाले देवानगञ्ज वडा नं. ३ मा मन्दिरमा डिजे ठूलो आवाजमा बजाएको विषयलाई लिएर युवाहरुको दुई समूहबिच झडप हुँदा घटना बढेर उग्र रूप लिएको थियो।
प्रकाशित: १ भाद्र २०८३ १६:४३ सोमबार


-600x400.jpg)


