१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

हिले दशैंः टीकाको दिन सातै प्रदेशमा वर्षाको सम्भावना

यो वर्ष विजया दशमीको दिन बिहीबार देशैभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दशैं विशेष बुलेटिनमा भोलि बुधबार र पर्सि टीकाको दिन बिहीबार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।  

बुलेटिनमा भोलि बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यस्तै बिहीबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

टीकाको भोलिपल्ट अर्थात् शुक्रबारदेखि भने देशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले तीन वटा प्रणाली विकास भइरहेकोले पूर्वी नेपालमा मुसल्धारे वर्षाको सम्भावना रहेको र यसको असर तीनरचार दिनसम्म देखिने बताए ।  

जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले असोज १८ गतेदेखि पूर्वी नेपाल हुँदै वर्षाको अत्यधिक सम्भावना रहेको बताएका छन् । असोज १७ देखि १९ गतेसम्म भारतको सिक्किम, पश्चिम बङ्गाल, बिहारमा अत्यधिक वर्षा हुने र सोही प्रणाली पश्चिमतर्फ सर्दै गएपछि कोशी प्रदेश बाट नेपाल प्रवेश गरी असोज २० गतेसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने उप्रेतीले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रकाशित: १४ आश्विन २०८२ १९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App