आगामी चार दिन देशका विभिन्न भागमा मनसुनी गतिविधि सक्रिय भई भारी वर्षा हुने पूर्वानुमान गरिएसँगै सरकारले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यसका कारण नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेर खतराको तहसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।
सूचनामा मधेश प्रदेशको महाभारत र चुरे क्षेत्र भएर बग्ने साना नदीनालाहरूमा आकस्मिक बाढी आउन सक्ने जोखिम औंल्याइएको छ। विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट र सर्लाही लगायतका जिल्लाहरू बाढी र पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ।
सरकारले नदी किनार तथा डुबान हुन सक्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा सर्नका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ।
गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गम्भीर बिरामीहरूलाई सुरक्षित स्थानमा सार्न विशेष व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।
यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, स्वयंसेवक तथा गैरसरकारी संस्थाहरूलाई समेत उच्च सतर्कताका साथ खोज, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

प्रकाशित: १७ आश्विन २०८२ १९:०४ शुक्रबार





