चार वर्षअघि स्थानीय निर्वाचनका बेला अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्या भएको घटनामा उच्च अदालत दिपायलले ६ जनालाई जन्म कैद सजाय सुनाएको छ। चर्चित विनोद शाही हत्या प्रकरणमा जिल्ला अदालतको फैसला उल्टाउँदै ६ जनालाई जन्म कैदको सजाय गर्ने फैसला भएको हो।
उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले सोमबार विनोद शाही हत्या घटनामा ६ जनालाई अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्म कैद सजाय हुने फैसला गरेको अदालतका प्रवक्ता नरबहादुर नेगीले बताएका छन्।
शाहीको हत्याको घटनामा जिल्ला अदालत अछामले प्रतिवादी १० जनालाई २०८२ साल कात्तिक २१ गते सफाइ दिने फैसला सुनाएको थियो।
जिल्ला अदालतको फैसलापछि २०८२ पुस २९ गते १० जनाविरुद्ध उच्च अदालत दिपायलमा पुनरावेदन दर्ता गरिएको थियो।
प्रतिवादीमध्ये सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदको सजाय सुनाइएको उनले बताए। उनीहरूलाई जनही १ लाखका दरले पीडितलाई क्षतिपूर्ति पनि भराउन आदेश भएको छ। सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति समेत हुन्।
अन्य चार जना प्रतिवादी पानमति बम शाही, द्रोपती शाही, कर्णबहादुर शाही र शान्तिकुमारी शाहीले भने उच्च अदालतबाट पनि सफाइ पाएका छन्। उनीहरूको हकमा जिल्लाकै निर्णय सदर हुने ठहर गरिएको उनले बताए।
जिल्लाको फैसलापछि पुर्पक्षका लागि थुनामा रहेका ५ जना समेत रिहा भएका थिए। उच्च अदालतमा पुनरावेदन गरिएपछि प्रतिवादी १० जनाले अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी तारेखमा नबस्ने सुविधा लिएको प्रवक्ता नेगीले बताए।
घटना के थियो?
३० वैशाख २०७९ को स्थानीय तह चुनावको दिन पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप भएको थियो। निर्वाचन स्थल नजिक भएको झडप त्यत्तिकैमा साम्य भएन। घर फर्केपछि पनि दुई समूहबिच कुटपिट र सामूहिक झडप हुने क्रम चल्यो। प्रहरी प्रशासनलाई छलफल गराएर मिलाउन भन्दा पनि गम्भीर रूपमा नलिएको स्थानीयको गुनासो छ।
दुई सातापछि जेठ १६ गते बिनायक बजारमा गंगा शाहीमाथि कुटपिट भएपछि घटनाले पुन: उग्र रूप लियो। बिनायक बजारमा दुवै समूह बिच झडप हुन्छ। जेठ १७ गते विनोदका भाइ नाता पर्ने १० वर्षीय श्यामबहादुर शाहीमाथि कुटपिट भएको भन्दै नेकपा एमालेका समर्थकको समूह गएर नेपाली कांग्रेसका कार्यकर्ता सुरत शाही लगायतलाई कुटपिट गर्छन्। कुटपिट खाने पक्षको समूहले प्रहरीमा उजुरी दिएपछि त्यही साँझ प्रहरीको टोली पक्राउ गर्न गाउँमा पुग्छ।
प्रहरी पक्राउ गर्न आएपछि एमालेका कार्यकर्ताले अवरोध गर्न खोज्दा झडप भएको थियो। प्रहरीसँगको झडप हुँदा नेकपा एमाले समर्थक लगायत गाउँका सबै युवाहरू भागाभाग भएर फरार हुन्छन्। १८ गते घरबाट भागेका युवाहरू मोबाइल समेत स्विचअफ गरेर सम्पर्कविहीन हुन्छन्। दुई/तीन दिनसम्म सबै सकुशल सम्पर्कमा आए पनि विनोद सम्पर्कमा आउँदैनन्। जेठ २१ गते घर नजिकैको जंगलमा मृत अवस्थामा उनी भेटिएको मृतकका दाजु बखतबहादुर शाही बताउँछन्।
त्यतिबेला प्रहरीको भूमिका ठीक नभएकाले घटना घटेको उनको भनाइ छ।
२१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिए पनि जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहित तीन जना आरोपितविरुद्ध मुद्दा नचलाउने निर्णय गरेर १० जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता गर्न आनाकानी भएपछि विनोद शाही हत्या घटनाबारे संसदमा पनि कुरा उठेको थियो।
मुद्दा दर्ता गर्न सभामुखले नै सरकारलाई रुलिङ गरेका थिए। ५ जना पुर्पक्षका लागि थुनामा परेका थिए भने ५ जना धरौटीमा रिहा भएका थिए। जिल्ला अदालतको फैसलापछि थुनामा रहेका पनि रिहा भएका थिए।
प्रकाशित: ९ असार २०८३ १२:२३ मंगलबार





