८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

फाइल तस्बिर

कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

उनका अनुसार बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। जिल्लाका ग्रामिण भेगमा दिउँसो ४ बजेदेखि नै सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रजिअ बरालले बताए। कास्कीका पर्यटकीयस्थलमा हुने पदयात्रामा पनि रोक लगाइएको छ। पदयात्रामा गएकालाई सुरक्षित स्थानमा फर्कन सम्बन्धित पर्यटन संस्थाहरुमार्फत सूचित गर्ने निर्णय गरिएको छ।

अस्पताल, रेडक्रसलगायत सङ्घसंस्थाहरूलाई सम्भावित विपद्पछिको उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन भनिएको सहायक प्रजिअ बरालले बताए। फेवाताल, बेगनासताललगायत तालतलैयामा जल पर्यटन सम्बद्ध गतिविधि सञ्चालन गर्दा सुरक्षाका माफदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ। मौसम प्रतिकुल भएका अवस्थामा जल पर्यटनसम्बद्ध गतिविधि सञ्चालनमा रोक लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना रहेको अवधिसम्म नदी तथा खोलाको तटीय क्षेत्रमा नजान, अत्यावश्यक अवस्थामा बाहेक लामो दुरीको यात्रा नगर्न र विपद्जन्य घटना घटेमा तत्काल स्थानीय तह र स्थानीय प्रशासनलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय तहलाई नदी तथा पहिरोको जोखिममा रहेका बस्तीमा तत्काल सूचना प्रवाह गर्न, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न तथा परिस्थितिअनुसार विद्यालय बन्द गर्न भनिएको छ।

सम्भावित विपद्लाई दृष्टिगत गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई एम्बुलेन्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न जिल्ला विपद् समितिले आग्रह गरेको। विपद्का बेला तत्काल उद्धारका लागि हेलिकप्टर सेवा प्रदायक संस्थालाई पनि तयारी अवस्थामा रहन भनिएको छ। जल तथा मौसम विज्ञान विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने जनाएको छ। रासस

प्रकाशित: ८ आश्विन २०८३ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App