१६ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

बर्डफ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्डफ्लूको जोखिम देखिएपछि उच्च सर्तकता अपनाइएको छ।  

जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए। उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताए।  

उनले भने, ‘खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन्।’ सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ।  

डा. यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाइ गरिएको बताए। पशु क्वारेन्टाइन कार्यालयका अनुसार जिल्लामा करिब २० देखि २५ थान ब्रोइलर भारतीय कुखुरा दैनिक रूपमा नष्ट गरिएको छ।  

उनले भने, ‘हामीलाई विभागबाट स्पष्ट निर्देशन आएको छ र हामी सचेत छौँ। तराईसँग खुला सीमा जोडिएका जिल्लामा बर्ड फ्लूको जोखिम देखिएको छ।’ नियमित रूपमा कार्यालयबाट हुने जनचेतानमूलक कार्यक्रम भइरहेको डा यादवको भनाइ छ।  

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा गणेशबहादुर पुनले चल्ला आयातमा उच्च सर्तकता अपनाएको बताए। जिल्लामा सुइया, बगौँडा, खडैँचा, जमूनाह नाकालगायत विभिन्न क्षेत्र खुला सीमा नाका रहेका छन्।

प्रकाशित: १६ चैत्र २०८२ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App