मौसम प्रतिकूल बन्दै गएपछि बिहीबार राति देशका पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले साँझ ६:१० बजे विशेष मौसमी बुलेटिन जारी गर्दै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको जनाएको हो।
यसैगरी, रातिको समयमा मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।
भारी वर्षाका कारण पहाडी भेगमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने र तराईका भू-भागमा डुबान हुनसक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्र तथा कमजोर संरचना आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
मौसममा आएको यो फेरबदलका कारण यात्रा गर्दा सडकको अवस्था बुझ्न र विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा रहन सूचित गरिएको छ।
प्रकाशित: ८ आश्विन २०८३ १८:१७ बिहीबार





