८ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमालेलाई झोले र मासुभात भन्नेहरूको भ्रम छिटै तोडिन्छ: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी र कार्यकर्तामाथि सामाजिक सञ्जालमार्फत चलाइएको सुनियोजित षड्यन्त्र धेरै दिन नटिक्ने दाबी गरेका छन्।

एमालेलाई कमजोर देखाउन झोले र मासुभा' जस्ता भाष्य निर्माण गरिएको भन्दै उनले जनताको मैदानमा एमाले नै निर्णायक शक्ति रहेको जिकिर गरे।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले पार्टीविरुद्ध नियोजित रूपमा नकारात्मक मनोविज्ञान फैलाउने प्रयास भइरहेको बताए।

‘कहिले एमाले बन्नु भनेको मासुभात खानु हो भने, कहिले झोले हुनु हो भनेर प्रचार गरियो,’ बस्नेतले भने, ‘एमाले हुनुमा गौरव गर्ने मनोविज्ञानलाई भत्काउन विपक्षीहरूले सामाजिक सञ्जालको अल्गोरिदम प्रयोग गरेर यस्ता भाष्य बनाएका हुन्।’

मैदानमा गएर हेर्दा जनताको विश्वास अझै पनि एमालेमाथि नै रहेको उनको दाबी थियो। विपक्षीहरूले एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्दै गरेको टिप्पणीको खण्डन गर्दै उनले भने, ‘एमाले जनताको सुखदुःखमा भिजेको पार्टी हो। विपक्षीहरूको आलोचनाको केन्द्रमा पनि एमाले नै छ र जनताको आशाको केन्द्रमा पनि एमाले नै छ। आगामी दिनमा मुलुकको नेतृत्व गर्ने निर्णायक तागत हामी नै हौं।’

वर्तमान सरकार र रास्वपा समर्थकहरूको आलोचना गर्दै बस्नेतले सामाजिक सञ्जालको भरमा खडा गरिएको लोकप्रियताको पर्दाफास भइसकेको टिप्पणी गरे। पछिल्लो पाँच-छ महिनामै सरकारको नक्कली मुकुण्डो उत्रिएको उल्लेख गर्दै उनले स्टन्टबाजीले देश नचल्ने बताए।

सरकार प्रतिशोध, अधिनायकवाद, महँगी र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै बस्नेतले विपद् व्यवस्थापनमा समेत चरम लापर्बाही गरेको बताए। उनले राहत कोषको अर्बौं रकम हेलिकप्टर सयरमा सकिएको भन्दै सरकारसँग पारदर्शिताको माग गरे।

जनतामा निराशा र आक्रोश चुलिँदै गएको उल्लेख गर्दै सचिव बस्नेतले दसैं, तिहार र छठ पर्वलगत्तै एमालेको नेतृत्वमा सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूलाई समेटेर देशव्यापी आन्दोलन चर्काउने र त्यसले वर्तमान सत्ता ढाल्ने चेतावनी दिए।

प्रकाशित: ८ आश्विन २०८३ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App