३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

युवामा धुम्रपानको लत हटाउन भारी कर लगाउनुपर्छ : विज्ञ

सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर नीति, सादा प्याकेजिङ र कडा अनुगमन प्रणाली प्रभावकारी उपाय हुन सक्ने विज्ञहरूले सुझाएका छन्।  

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले शुक्रबार 'धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव नियन्त्रणमा कर वृद्धि' विषयक अन्तरक्रिया आयोजना गरेको थियो। सो अन्तरक्रियामा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य डा. जयकुमार गुरुङले भने, 'उच्च कर दरले उपभोग घटाउन, युवालाई सुरु गर्नबाट रोक्न र सरकारलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिने अतिरिक्त राजस्व सङ्कलन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।' उनले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कर नीति सबैभन्दा शक्तिशाली रणनीति मानिने उल्लेख गरे।  

कर प्रणालीलाई सरल बनाएर अन्तःशुल्क, स्वास्थ्य जोखिम कर र भ्याटमा समानुपातिक संरचना लागू गर्दा प्रशासनिक अनुगमन सजिलो हुने उनको भनाइ छ। 'अन्तःशुल्क र स्वास्थ्य जोखिम करलाई निरन्तर र उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्ने अपरिहार्यता छ,' उनले भने, 'जसले सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्छ।' कर प्रणालीलाई थप प्रभावकारी बनाउन विलासिता कर, वातावरण कर, खुद्रा व्यापार दर्ता शुल्कजस्ता अतिरिक्त माध्यम अपनाउन सकिने उनले सुझाव दिए।  

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य सचेतना तथा सुर्तीजन्य नियन्त्रण शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सादा प्याकेजिङ नीति प्रभावकारी देखिएको बताए।  

उनले भने, 'सादा प्याकेजिङले सुर्तीजन्य पदार्थको ब्रान्डिङ र डिजाइन हटाउँछ जसले गर्दा उत्पादनहरू कम आकर्षक देखिन्छन् र युवाहरूमा यसको लोभ्याउने क्षमता घटाउँछ। आकर्षक ब्रान्डिङ नहुँदा प्याकेटमा छापिएका स्वास्थ्य चेतावनीहरू अझ स्पष्ट देखिन्छन् र उपभोक्ताले स्वास्थ्य जोखिमबारे राम्ररी बुझ्न सक्छन्।' रासस

प्रकाशित: २१ भाद्र २०८२ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App