१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

गण्डकीका हिमाली भेगमा भारी हिमपातको सम्भावना

फाइल।

जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आगामी दुई दिन देशका विभिन्न भू-भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागले एक विशेष मौसम बुलेटिन जारी गर्दै विशेषगरी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार, यो मौसमी प्रणालीको असर कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म रहनेछ।

यस अवधिमा गण्डकी, कर्णाली र बाग्मती प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

विभागले विशेषगरी गण्डकी प्रदेशको गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ र आसपासका हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी हिमपात समेत हुनसक्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी, वर्षातर्फ गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

यो मौसमी बदलीले कृषि र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरिएको छ।

अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली आएको छ भने बंगालको खाडीमा बनेको ‘मोन्था’ नामक समुद्री चक्रवातका कारण यो साता नेपालको पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना बढेको छ।

प्रकाशित: १० कार्तिक २०८२ २२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App