९ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

बिहीबारदेखि हुने भारी वर्षाले गण्डकीदेखि कोशीसम्म उच्च जोखिम, विशेष सावधानी अपनाउन आग्रह

मौसमविद् विनोद पोखरेलले बिहीबारदेखि नेपालमा मौसम बदलिएर वर्षा सुरु हुने सम्भावना बलियो देखिएको बताएका छन्। उनका अनुसार पछिल्लो १०–१२ दिनदेखि देखिँदै आएको वर्षाको सम्भावनालाई प्रमुख दुई मौसम पूर्वानुमान मोडेल जीएफएस र ईसीएमडब्लूएफले समेत समर्थन गरेका छन्।

पोखरेलका अनुसार बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना छ। हालको पूर्वानुमानअनुसार उक्त प्रणाली भारतको आन्ध्र प्रदेशको तट हुँदै जमिनमा प्रवेश गरी उत्तरतर्फ अघि बढ्न सक्छ।

नेपाल नजिक आइपुग्दा उक्त प्रणाली कमजोर न्यूनचापीय प्रणालीका रूपमा रहने भए पनि यसबाट आउने ओसिलो हावा र माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले नेपालमा भारी वर्षा गराउन सक्ने उनले बताएका छन्।

विशेषगरी बिहीबारदेखि शुक्रबार रातिसम्म गण्डकीदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको पूर्वानुमान छ।

उनका अनुसार कुन जिल्लामा कुन दिन वर्षा र जोखिम बढी हुन सक्छ भन्ने विषयमा जिल्लागत पूर्वानुमानलाई ध्यान दिन आवश्यक छ। यद्यपि, वर्षाको समय, स्थान र मात्रामा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो मौसम अपडेटलाई नियमित रूपमा पछ्याउनुपर्ने उनले बताएका छन्।

सम्भावित वर्षालाई ध्यानमा राख्दै किसान तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App