कञ्चनपुरमा केही समयअघि यसवर्षकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुर जिल्लाको सुन्दरपुरस्थित मौसम मापन केन्द्रमा ९२.७ मिलिमिटर वर्षा भएको छ।
महाशाखाले अझै पानी पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सुदूरपश्चिमका पहाडी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा भारी वर्षाका कारण महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले बनबासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ५५ हजार २०० चौरासी क्युसेक पुगेको छ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइदै आएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १७:४५ बुधबार





