७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बाजुरामा भारी वर्षासँगै हिमपात

लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ ।  

मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ । हिमपात भएपछि बडिमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र बस्तीमा हिमपात भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।  

उनका अनुसार हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायत क्षेत्रका स्थानीय बढी प्रभावित बनेका छन् । आज यहाँका डाँडा सेताम्मे भएका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी बढी प्रभावित भएका बताउँदै आवश्यक सर्तकता अपनाउन उनले सबैमा आग्रह गरे ।  

बाक्लो हिमपातले बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैनलगायत अग्ला डाँडा सेताम्मे बनेका छन् । यहाँका लेकाली भेगमा अहिले पनि हिमपात र भारी वर्षा भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले जानकारी दिए।

उनका अनुसार जिल्लामा भारी वर्षा भइरहेकाले बाढीपहिरो र भूक्षयको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसधारणलाई आग्रह गरिएको हो । मौसम विभागले वर्षासँगै हुरीबतासको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध गरे ।

लगातार वर्षा भएपछि चैते धानका लागि सिँचाइको व्यवस्था सहज भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गहुँको बाली पसाउने, ओसर, स्याउलगायत फलफूल पलाउने बेलामा वर्षा हुनु किसानका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए ।  

‘गहुँको बाला लाग्ने बेला भएको छ । फलफूलका बिरुवा फुल्ने बेलामा आएको वर्षाले राहत दिएको छ । चैते धान लगाउन पनि सिँचाइको रूपमा वर्षाले काम गरेको छ’, उनले भने ।

आज बिहानदेखि निरन्तर वर्षा भएपछि जिल्लामा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित बनेका छन् । चिसो बढेकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढ्यो  

वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढेको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तु बेँसी झर्ने भएकाले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएपछि जङ्गली जनावर घोरल, रतुवालगायत विभिन्न प्रजातिका जनावर न्यानो खोज्दै बेँसीतर्फ आउने भएका सोही मौकामा चोरीसिकारीको सम्भावना बढेको हो ।

वन्जयजन्तु तथा जङ्गली जनावरको चोरीसिकारी नगर्न डिभिजन वन कार्यालयले सबैलाई आग्रह गरेको छ । जङ्गली जनावरको चोरीसिकारी भएमा वन ऐनअनुसार कानुनी कारबाही गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए । वन्यजन्तुको चोरीसिकारी रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । 

प्रकाशित: ६ चैत्र २०८२ १९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App