चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारमाथि माग सम्बोधन गर्न दबाब बढेको छ। नेपाल चिकित्सक संघले केसीको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५औँ आमरण अनशनमा रहेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केसीको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्था रहेकाले सरकारले ढिलाइ नगरी वार्ताको वातावरण बनाउनुपर्ने संघको माग छ।
डा केसीले उठाएका माग सम्बोधन गर्दै अनशन अन्त्य गराउने पहल गर्न पनि संघले सरकारलाई आग्रह गरेको छ। लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका विषय उठाउँदै आएका केसीको मागलाई बेवास्ता गर्न नहुने संघको धारणा छ।
यसैबीच, केसीको माग र पछिल्लो स्वास्थ्य अवस्थाबारे थप छलफल गर्न चिकित्सक संघले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा बैठक बोलाएको छ।
बैठकमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सकहरू सहभागी हुनेछन्। छलफलबाट केसीको स्वास्थ्य उपचार, माग सम्बोधन र सरकारसँगको संवादलाई कसरी अघि बढाउने भन्ने विषयमा धारणा तय गरिने अपेक्षा गरिएको छ।
इलामबाट आमरण अनशन सुरु गरेका डा। केसी हाल उपचारका लागि काठमाडौँमा छन्। उनको स्वास्थ्य अवस्था र अनशन लम्बिँदै गएको परिस्थितिले चिकित्सा क्षेत्रका सरोकारवालाको चिन्ता बढाएको छ।
सरकारले केसीका मागबारे वार्ता र समाधानको पहल कसरी अघि बढाउँछ भन्ने विषय अब चासोको केन्द्र बनेको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १३:४१ बिहीबार





