२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सडक कालोपत्रे हुने खबरले खुसी

खोटाङको खानीडाँडाबाट याम्खासम्मको सडकस्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ । प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयले चालु वर्षको नीति तथा कार्यक्रममा बजेट सुनिश्चित गरेसँगै यो खण्डको सडक कालोपत्रे हुने निश्चित भएको हो ।  

चालुवर्षदेखि काम सुरु हुने गरी मन्त्रालयले बहुवर्षीय योजनाकोबजेट स्रोत सुनिश्चित गरेको हो । आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ३० करोड बजेटको स्रोत सुनिश्चित गरेसँगै सडक कालोपत्रे हुने अपेक्षासहित जिल्लाबासीमा खुसी भएका छन् ।  

आधा दशकअघि नै निर्माण भएको कच्ची सडक पक्की बनाउन सके जिल्लाको दक्षिणी भेगका स्थानीय तहलाई सदरमुकाम दिक्तेलसँग यातायातको सोझो सम्बन्ध जोडिने स्थानीय बताउँछन् ।  

प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले दिक्तेलसँग दक्षिणी भेगलाई जोड्न यो सडक अत्यन्त महत्वपूर्ण भएकाले यसै वर्षदेखि काम थाल्ने गरी वजेट विनियोजन गरिएको बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खानीडाँडास्थित मनमाया राई विमानस्थलदेखि दिप्रुङ चुईचुम्मा गाउँमुकाम याङसोला, याम्खा, रातमाटा हुँदै पञ्चमी जोडिएको सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रे हुन लागेको मन्त्री राईले बताए ।  

मन्त्री राईको माग सिफारिसलाई प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले भदौ तीन गतेको मितिमा निर्णय गर्दै स्रोत सहमति जनाएको छ । खानीडाँडा-याम्खा सडक कालोपत्रेका लागि चालु आर्थिक वर्ष भौतिक पूर्वाधार मन्त्रालयले सुरुवाती तीन करोड बजेट विनियोजन गरेको छ ।  

त्यसलाई पूरा गर्न बहुवर्षीय योजनामा समावेश गरी स्रोत सुनिश्चित गरेपछि काम थाल्न चाँडै टेण्डर आव्हान गर्ने तयारी भईरहेको मन्त्री राईले बताए ।

मन्त्री राईले कार्यालयलाई भदौ १३ गतेको मितिमा पत्रपठाउदै सडक निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको बताए ।

यसअघि दिक्तेलबाट खाल्ले आहालेसम्मको १० किलोमिटर सडक कालोपत्रे भईसकेको छ । बाँकी खानीडाँडा विमानस्थलबाट खोटेहाङ गाउँपालिका-४ थामखर्क विमानस्थलसम्म कालोपत्रे गरेपछि दक्षिणी भेगका स्थानीयलाई छिमेकी स्थानीय तहसँगै सदरमुकाम आउजाउ गर्न सहज हुनेछ ।

यो ४१ किलोमिटर सडकलाई दुई खण्डमा कालोपत्रे योजना अघि बढाइएको छ । अर्को खण्ड सडक संघीय समपुरक अनुदानबाट कालोपत्रे गर्न लागिएको मन्त्री राईले बताए ।

खानीडाँडा–याम्खा खण्डका लागि ३० करोडको वहुवर्षे योजना अघि बढेसँगै खानीडाँडाबाट थामखर्कसम्मको खण्ड पनि कालोपत्रे गर्न स्रोत सहमति जुटाइएको छ । त्यसका लागि ६० करोडको स्रोत सहमति जुटाइएको मन्त्री राईले बताएका छन् ।  

पूर्वाधार मन्त्री राई यसअघि ०७४–०७९ मा दिप्रुङ चुईचुम्मा गाउँपालिकामा निर्वाचित अध्यक्ष हुन् । आफू अध्यक्ष हुँदा निर्माण थालेको खानीडाँडा–याम्खा सडक कालोपत्रे गर्दै खानीडाँडा–थामखर्क दुई विमानस्थलसम्मको सडक दूरीलाई पनि कालोपत्रे गर्ने गरी अघि बढेको उनी बताउँछन् ।  

सो खण्डमा पर्ने साप्सु खोलामा यसअघि नै मोटरेबल पक्की पुल निर्माण भईसकेकाले कालोपत्रे गर्नेबित्तिकै दक्षिणी भेगबासीका लागि  ‘लाईफलाईन’ बन्ने उनको बुझाई छ । 

प्रकाशित: १५ भाद्र २०८२ १६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App