२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

असिनाले नष्ट गर्‍यो ३५० मुरी बढी मार्सी धान

पाकेर लटरम्म झुलेको मार्सी धान घर भित्र्याउने तयारीमा रहेका जुम्लाको तातोपानी गाउँपालिका-४ गिडिखोलाका किसानको वर्षभरिको मेहनत असिनापानीले सखाप पारेको छ।

शुक्रबार दिउँसो करिब ४५ मिनेट परेको असिनापानीले पाँचवटा जिउलाका करिब ७० घरधुरीको ३ सय ५० मुरीभन्दा बढी मार्सी धानबालीमा क्षति पुर्‍याएको छ। पाकेको धान काटेर भित्र्याउने चटारोमा रहेका किसानका लागि असिनापानी प्राकृतिक विपत्तिका रूपमा आएको छ।

तातोपानी गाउँपालिका-४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार असिनापानीले गिडिखोला गाउँका नाउलीसेरा, कालापानी, गैरासिम, सिमान्ना र गिडिचौर जिउलामा लगाइएको मार्सी धानमा ठूलो क्षति पुर्‍याएको हो।

गाउँको दक्षिणपश्चिम दिशामा पर्ने भुरिचुला र फुलचौल्या पाटन क्षेत्रबाट शुक्रबार दिउँसो करिब ३ बजेदेखि परेको असिनापानीले पाकेर तयार भएको धान झारेको उनले बताए। करिब ४५ मिनेटसम्म परेको असिनाले ७० घरधुरीको मुख्य खाद्यान्न बालीमा क्षति पुर्‍याएको उनको भनाइ छ।

वर्षभरि खेतमा गरेको मेहनतको प्रतिफल भित्र्याउने बेलामै धानमा क्षति पुगेपछि किसान निराश बनेका छन्। जुम्लाको पहिचानका रूपमा रहेको मार्सी धान यहाँका किसानको खाद्यान्न र आम्दानीको महत्त्वपूर्ण आधार हो।

पाकेको बालीमा असिनाले क्षति पुर्‍याउँदा किसानको वर्षभरिको उत्पादन र जीविकोपार्जनमै असर पर्ने देखिएको छ। घटनाप्रति तातोपानी गाउँपालिका परिवारले दुःख व्यक्त गरेको छ। असिनाबाट भएको क्षतिको विस्तृत विवरण, प्रभावित किसानको वास्तविक नोक्सानी र राहत व्यवस्थाबारे भने थप विवरण आउन बाँकी छ।

प्रकाशित: २३ आश्विन २०८३ १९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App